​दिदीहरूले छाड्न मिल्दैन दाबी ?

  • दिलु पन्त

हामी वाम गठबन्धन हुँदै एकताको दिशातर्फ अग्रसर छौँ । तर, समृद्धिको बाटोमा हिँड्न परेड खेलिरहँदा फेरि पनि न्याय र अन्यायका कुरा उठेका छन् । बजारभरि बिचौलिया र चाटुकारहरुको लाम लागेको छ । आन्दोलनमा जीवन अर्पण गरेका मानिसहरु रछ्यानमा फ्याँकिँदै छन् ।
हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा म नेकपा (एमाले) को तर्फबाट समानुपातिक उम्मेदवार हुँ । निर्वाचन आयोगले यसतर्फको मत परिणाम सार्वजनिक गरेको छैन । तर, पार्टीले समानुपातिकको परिणाम पनि घोषणा गरिसकेको हल्ला छ । म चुनावभरि प्रचारक्रममा पोखरा थिएँ । घर त्यहीँ हो । न्यायोचित तवरले समानुपातिक सूची बनाइएको भए पक्कापक्की सांसद हुन्थेँ । तर, न सूची न्यायोचित तवरले तयार पारियो, न छनौटमै न्याय पाइयो । नेताकहाँ धाउनेहरुको आवत–जावत चलिरहेको छ । तर, म कतै पुगेकी छैन । साथीहरु भन्दै हुनुहुन्छ, ‘अप्ठेरो लागे हामी पनि सँगै गइदिन्छौं ।’ म भन्दैछु, ‘सांसद ठूलो कुरा भएन । मलाई एमाले हुनबाट कसैले रोक्न सक्दैन । त्यसैले दुःख नगरौँ ।’ अर्काथरि भन्दैछन्, ‘तपाईं माधव नेपाल गुटको । उहाँले नै कुरा उठाउनुभएको छैन रे !’ 

हो, समस्या यहीँ छ । वाल्यकालदेखि यो पार्टीमा छु । पोखरा १२ नं. वडाको हाम्रै घरमा सेल्टर थियो । धेरै कुरा त्यहीँ सिकियो । सामन्ती शासन ढालेर तानाशाहहरुलाई हराएपछि न्यायले जनतालाई खोज्दै आउँछ भन्ने सिकेर हुर्किएकी हुँ । आज मलाई माधव नेपालले बनाएनन् वा कुरा उठाइदिएनन् भन्ने गरिब मनका साथीहरुलाई भन्न मन लागेको छ कि, मेरोबारे यति धेरै चिन्ता गरिदिने तिमीहरुले चाहिँ कहाँ, के र कसलाई भन्यौ ? हो, माधव नेपाल पक्षकी हुँ । माधव नेपाल वा केपी ओली कुनै त्यस्तो कम्पनी होइन कि जहाँबाट आ–आफ्ना कारखानाका सामान बजारमा लगिन्छ । त्यो त पार्टी सञ्चालनक्रममा विकसित केही शक्तिकेन्द्र वा विचारकेन्द्र हुन्, जहाँ आ–आफ्ना इच्छाले हामी निकट या टाढा छौँ । हाम्रो पार्टीमा माधव–केपी भनेर छुट्टिएको कति भयो र ? यही १२–१५ वर्ष न हो †  म २०४५ सालदेखि यही आन्दोलनमा सरिक छु । त्यसबेला माधव नेपाल, केपी ओली, झलनाथ, वामदेव भनेर होइन, कम्युनिष्ट आन्दोलन भनेर संघर्षमा लागेका हौँ । तर, आज त्यस्तो पक्षधरतालाई वडा र टोलसम्मै लगिएको छ । फलतः इतिहासको अवमूल्यन भएको छ । मानिसहरु अवसरका लागि सबथोक बिर्सन तयार छन् । 

कम्युनिष्ट आन्दोलनमा राधा ज्ञवाली दिदीको अगाडि हामी सानातिना फुच्ची हौँ । उहाँहरुबाट सिकेका हौँ, सिक्नुपर्छ । यतिबेला उहाँ प्रतिनिधिसभा समानुपातिकतर्फ खस–आर्य महिलाको क्लस्टरमा पहिलो नम्बरको दावेदार हुनुहुन्छ । अर्थात्, सांसद पक्का † म त्यही सूचीको १६ औँ नम्बरकी उम्मेदवार । मलाई सांसद बनाएर वा नबनाएर हुने केही हैन । बनाए आफ्नो योग्यता, क्षमता प्रदर्शन गरेर जनताको बीचमा काम गर्थें । तर, बनिएन भने पनि जनताको बीचमा काम गर्ने बाटो रोकिन्न । तर, नबुझिएको कुरा के हो भने, राधा दिदी ०६४ मा पनि समानुपातिक सांसद । दोस्रो संविधानसभामा सांसद नभइकनै मन्त्री । अहिले पहिलो नम्बरको उम्मेदवार । डा.विन्दा पाण्डे समान अवसरको वकालत गर्ने नेतृ । यतिबेला पछाडि परेका केही साथीहरुलाई न्याय चाहिएको छ, समान अवसर पनि चाहिएको छ । तपाईंहरुले सिकाएको न्याय हामीलाई दिने मौका अरुको हैन, यहाँहरुकै हातमा सुरक्षित छ । राधा दिदीले सिकाएको न्याय यदि आज हामीलाई दिन चाहनुहुन्छ भने कृपया म दोहोरिएर समानुपातिक सांसद खान्न भनिदिनुस् । यदि, डा.विन्दा पाण्डे समान अवसरप्रति साँच्चै प्रतिवद्ध हुनुहुन्छ भने एकचोटि पनि सांसद बन्ने अवसर नपाएकाहरुका लागि आफ्नो दाबेदारी वा उम्मेदवारी त्यागेँ भन्नुस् † तबमात्रै तपाईंहरुले सिकाएको न्याय र समानताका कुरा सार्थक हुनेछन् । बिहानभरि भगवानको पूजा गरेर राति शिकार खेल्न हिँड्नेले धर्म कमाउँदैनन् ।

म पहिला प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बन्ने सूचीमा थिएँ । पछि प्रदेशसभाभाको प्रत्यक्षमै नाम देखेँ । पछि प्रदेशसभातर्फ समानुपातिकमा नाम हालिएछ । त्यो पनि ठीकै छ भनेर बसेँ । हुँदाहुँदा प्रदेशबाट नाम प्रतिनिधिसभामा पुग्यो । झन् राम्रो भयो भन्ने लाग्यो । यसअघि उपमेयरका लागि तयार हुनुस् भनेर नेताहरुले भन्नुभयो । अन्तिममा गुरुङलाई दिनुपर्ने भनेर नाम हट्यो । राष्ट्रपतिकी मितिनी क.मञ्जु गुरुङलाई उपमेयर बनाउने चुनावमा म आफँै सक्रिय भएर हिँडँे । आज जिफन्ट र पार्टी अफिसका कर्मचारी महिलाहरु कोही पनि समानुपातिक सांसद हुनबाट बञ्चित हुनुभएन । कोही प्रदेशमा गइसक्नुभयो, कोही केन्द्रमा जान तयार भएर बस्नुभएको छ । नेताका पिएहरु कोही पनि छुट्नुभएन । कोही प्रत्यक्षमै जानुभयो, कोही समानुपातिकमा सुरक्षित हुनुहुन्छ । विहान उठेर, सकेसम्म दाँत माझेर, उस्तै परे दाँत  पनि नमाझी बालकोटबाट कोटेश्वर, त्यहाँबाट भैँसेपाटी हुँदै ढल्कोसम्म चक्कर लगाउने साथीहरुको ताँती देख्दैछौँ । मलाई पनि जाऔँ भनेर साथीहरुको फोन आउँछ । तर, एमाले भएर धेरैथोक सिकियो, नेताकहाँ पद देऊ भन्दै जान सकिएन ।

कास्की जिल्ला कमिटीमा तीनपटक सदस्य, युवा संघ केन्द्रीय कमिटीमा अहिले पनि उपाध्यक्ष हुँ । तर, हिजोअस्ती अर्कै पार्टीबाट आउनुभएकी कमरेड सुरक्षित रुपमा समानुपातिकमा राखिनुभयो । पार्टीका पोलिट्ब्युरो सदस्यहरुको भन्दा अगाडि ती साथीको नाम देखिन्छ । विहानै दाँत नमाझी हिँड्ने बानी नबसाल्दा हामी भूमिकाहीन हुने स्थितिमा छौँ । यसलाई न्याय भनिँदैन । समानता पनि यो होइन । जुन कुराको प्राप्तिका लागि आफ्नो जीवनको उर्वर समय खर्च गरियो, अन्ततः अरुलाई न्याय कति दिइयो, थाहा छैन । तर, न्यायको लडाइँ लड्न सिकाउनेहरुबाटै अन्यायमा परिएको छ ।

टिप्पणीहरू