कल्याण भन्छन्-मलाई अवसरवादीहरुको समर्थन चाहिँदैन
नेपाली काङग्रेसको चौधौँ महाधिवेशनको चटारोले अहिले नेताहरुलाई भ्याइ नभ्याइ छ । यहि चटारोका वीच अहिले नेताहरु देश दौडाहामा छन् । नेविसँघको पूर्व सभापतिसमेत रहेका लमजुङ्गे कल्याण गुरुङ्ग मध्ये तराईको सप्तरी पुगेका छन् । सभापतिमा सबभन्दा कान्छो उम्मेदवार बन्ने तयारी गरेका कल्याण काङ्ग्रेसको पुनर्जीवनका लागि आफ्नो उम्मेदवारी रहेको दावी गर्दछन् ।
इतिहासमा ३९ वर्षे बीपी कोइरालाले नेतृत्व गरेको काङ्ग्रेसमा ८० कट्न लागेकाहरुको राज चलिरहेको छ । कल्याण फेरि पुरानो इतिहास सहितको र नयाँ पुस्ताको काङ्ग्रेस बनाउने आफ्नो अभियान रहेको बताउँछन् ।
“अहिले त म पनि युवा होइन खाली नयाँ पुस्ता मात्र हुँ”- कल्याणले भने । काङ्ग्रेसप्रति फेरि सामान्य मान्छेको विश्वास फर्काउन र हराएको विश्वासलाई पुनर्जागृत गर्न आफ्नो उम्मेदवारी रहने कल्याणको दावा रहेको छ ।
भन्छन्-पार्टीमा न्यायको लागि नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको छ । आज हामीले पहल गरेर पात्र र प्रवृृति परिवर्तनको एजेण्डा स्थापित गर्ने अभियान चलाउन नसके काङ्ग्रेस देशको लिडर पार्टी बन्न नसक्ने भएकोले आफू सभापति बन्न चाहेको कल्याणको कथन छ ।
“कुनै समय ४० को दशकका नेताहरुले कमाण्ड गरेको काङ्ग्रेसमा अहिले त ४० नकाटी नेविसँघको नेता पनि बन्न नसकिने अवस्था आयो । यसकारण मेरो अभियान हो पात्र र प्रवृति फेर्ने र नयाँ पुस्ताको पार्टी बनाउने”-कल्याणले आफ्नो योजना सुनाए ।
गण्डकीको राजनीतिमा चिनिएका वसन्त गुरुङ्गका छोरा कल्याण आफू सिमित गुट र व्यक्तिहरुको दायरामा रहन नचाहने उन्मुक्त पँक्षी भएको दावा गर्छन् । उनी भन्छन् -अहिले पार्टीको प्रारम्भिक निर्वाचनमा सत्तरी प्रतिशत नयाँ पुस्ता र १० प्रतिशतभन्दा बढि युवाले जितेका छन् । ती सबै उन्मुक्त नयाँ पुस्ता र युवाहरु मेरो पक्षमा छन् ।
पार्टीमा अवसरवादीहरुको बोलवाला रहेको छ-कल्याणले भने -मलाई आफूलाई नयाँ पुस्ता भन्ने तर अवसरका पछि लाग्ने अवसरवादीहरुको साथ र समर्थन चाहिँदैन । आजको मेरो लडाइँ ३० वर्षदेखि पार्टी सत्ता र राजकीय सत्तामा रहेकाहरुलाई प्रजातान्त्रिक तरिकाले प्रतिस्थापन गर्न कल्याणले जमर्को गरेको आम कार्यकर्ताको बुझाइ रहेको उनले सुनाए ।
अबको काङ्ग्रेस सभापति पार्टीको मात्रै होइन देशकै प्रधानमन्त्री हो , त्यसकारण ती सभापतिमा मिसन,भिजन र सपना चाहिने कल्याणले सुनाए । समकालीन नेताहरुमा अहिले न सपना छ,न मिसन न त भिजन नै यसकारण नयाँ नेपालका लागि उहाँहरुलाई ससम्मान कार्यकारीबाट प्रतिस्थापन गरेर सल्लाहकारमा लैजानु जरुरी छ,हो यसका लागि कल्याणको सभापतिमा उम्मेदवारी हो-कल्याणले आफ्नो दावी पेश गरे ।
टिप्पणीहरू