भारतीय राजदूतका अनुसार विमलेन्द्र निधि ‘राष्ट्रघाती’
नेपालका लागि भारतीय पूर्वराजदूत रन्जित रेले हालै सार्वजनिक गरेको एउटा पुस्तकमा तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिको हर्कतबारे स्पष्टसँग उल्लेख छ । पार्टीको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा सभापतिको उम्मेदवारी घोषणा गरेर प्रचारमा हिँडेका निधिको विगतबारे छरपस्ट पारिएको हो ।
निधिले गृहमन्त्री छँदा आईजीपी नियुक्ति क्रममा रेलाई सोधेको सन्दर्भ सविस्तार चर्चा गरेका हुन् । रेको ‘काठमाडौं डिलेमा (रिसेटिङ इण्डिया–नेपाल टाइज)’ पुस्तकमा निधिको प्रसंग छ । भारतलाई लाग्दै आएको नेपालको आन्तरिक मामिलामा माइक्रोम्यानेजमेण्ट गर्ने गरेको आरोपलाई चिर्दै रेले लेखेका छन्,‘नेपालका गृहमन्त्रीले कसलाई आईजीपी बनाउने भनेर सोध्छन् भने भारतले माइक्रोम्यानेजमेण्ट गर्यो कसरी भन्ने ? बरु आफूले वरिष्ठताको आधारमा बनाउन सुझाएको थिएँ,’ ।
पुस्तकको पृष्ठ १८ मा निधिले नयाँ प्रहरी महानिरीक्षकको नियुक्तिलाई लिएर आफूलाई फोन गरेर सोधेको सन्दर्भ बकाइदा उल्लेख गरेका छन् । आफूले वरिष्ठता र मेरिटको आधारमा जो उपयुक्त छ उसैलाई नियुक्त गर्न सुझाएको कुरोसमेत त्यहि पृष्ठमा रेले सगर्व लेखेका छन् ।
त्यसबेला आईजीपीका उम्मेदवारहरुमा चार जना थिए- हाल एमालेका सांसद नवराज सिलवाल,प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी । स्रोतका अनुसार भारतीयपक्षको सदाशयताको निम्ति उनीहरूले राजदूत रेलाई पटक पटक भेटेको कुरो थाहा पाएपछि निधिले फोन सम्पर्क गरेर ‘कसलाई बनाऊँ हजुर ?’ भनेर सोधेको भनी काँग्रेसीहरुले बल्ल मुख खोलेका हुन् ।
त्यसबेला निधिले चार जनामध्ये सिलवाललाई बनाउन खोजेको सन्दर्भ बाहिरिएको थियो । पछि उनी एमाले प्रवेश गरेर ललितपुरबाट सांसदसमेत बने । पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले भने भेगीय र टाढाको नाता लाग्ने जयबहादुर चन्दलाई बनाउन खोजे । पछि चन्द नै आईजीपीको निम्ति सिफारिसमा परे तर,सर्वोच्च अदालतमा मुद्दा परेपछि कार्यसम्पादन मूल्याङ्कनका आधारमा अर्याललाई आईजीपी बनाइयो ।
एकातिर आफ्नै सभापतिको चाहना विपरितको आइजीपी नियुक्त गर्न खोज्नु,अर्कातिर भारतीय राजदूतसँग आइजीपी नियुक्तिलगायतका विषयमा तारन्तार छलफल र निर्णय गर्नुले निधिको करनी र कथनीमा आकाश र जमिनको अन्तर देखिएको हो । यसवीच निधीले भने आफूमाथि लागेको आरोपको ट्विटरमार्फत प्रतिवाद गरेका छन् ।
गृहमन्त्रीले विदेशी राजदूतसँग प्रहरी महानिरीक्षकको नियुक्तिबारे छलफल गर्ने,महानिरीक्षकको निम्ति उम्मेदवार भनिएका सबैजसो डिआईजी भारतीय दूतावासमा छिरेर आशिर्वाद थाप्न खोज्ने प्रवृत्तिले हाम्रो आन्तरिक सुरक्षाको निम्ति स्थापित प्रहरी संगठन र गृह मन्त्रालयको असली रुप नाङ्गो भएको छ ।
भारतीय पूर्वराजदूतको हालै सार्वजनिक पुस्तकको पृष्ठ १८ लाई आधार मान्दा योभन्दा ठूलो राष्ट्रघात र देशद्रोह अरु के हुनसक्छ ?
टिप्पणीहरू