बंगलादेशमा हिन्दू मारिँदा काठमाण्डौमा बिरोध

बंगलादेशमा हिन्दू मारिँदा काठमाण्डौमा बिरोध

बंगलादेशमा अल्पसंख्यक हिन्दू समुदायका मानिसमाथि भएको आक्रमणविरुद्ध नेपालका हिन्दूवादी संगठनहरुले चासो जनाएका छन् । राष्ट्रिय एकता अभियानले आज काठमाडौँस्थित दूतावासलाई ज्ञापनपत्र बुझाउँदै हिन्दू समुदायमाथिको आक्रमणप्रति बंगलादेशी सरकारको ध्यानाकर्षण गराएको हो ।

अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा ५ जनाको टोलीले बसुन्धरास्थित दूतावास पुगेर ज्ञापन पत्र बुझाएको हो । बंगलादेशी प्रधानमन्त्री शेख हसिनालाई सम्बोधन गरिएको पत्रमा हिन्दूहरुको सुरक्षा तथा आक्रमणकारीलाई कारवाहीको माग गरिएको छ ।

गत बुधवार राजधानी ढाका नजिकै हिन्दूहरूले दुर्गा पूजाको उत्सव मनाइरहेको बेला मुसलमानहरूको धर्मग्रन्थलाई अपमान गरिएको भन्दै आक्रोशित भीडले आक्रमण गरेको थियो । त्यसबाट उत्पन्न साम्प्रदायिक हिंसामा परी कम्तिमा चार जनाको मृत्यु भइसकेको र सयौँ मानिस घाइते भएको खबर विभिन्न सञ्चारमाध्यमले दिएका छन् । साथै कम्तिमा १७ धार्मिक मन्दिरहरुमा हमला भएको र त्यहाँका मूर्ति तोडफोड भएको बताइएको छ ।

अभियानले मन्दिर तथा हिन्दू आराध्य देवीदेवताको प्रतिमाहरुमा भएको उक्त हमलाको भर्त्सना गरेको छ । ज्ञापनपत्रमा बंगलादेश सरकारसंग जिहादी आक्रमणकारी विरुद्ध कठोर कारवाही तथा हिन्दूहरुको सुरक्षाको माग गरिएको छ । त्यस्तै, घटनाले सम्पूर्ण हिन्दू समुदायलाई चोट पुर्याएको र हिन्दू जनसंख्या र पूजास्थलहरुमा संगठित भीडको हमलाको खबरबाट सम्पूर्ण हिन्दू समुदायलाई गहिरो आघात पुगेको ज्ञापनपत्रमा जनाइएको छ।

अभियानले अन्तराष्ट्रिय मानवअधिकार सन्धि,संयुक्त राष्ट्रसंघको बडापत्र तथा धार्मिक अल्पसंख्यकको सांस्कृतिक अधिकारबारे बंगलादेशी सरकारलाई स्मरण गराउँदै आगामी दिनहरुमा त्यस्ता घटना पुन: दोहोरिन नदिन सचेत हुन आव्हान पनि गरेको छ ।

यस्ता घटनाले दक्षिण एशियाली सहकार्य र सद्भावमा समेत असर पर्ने चेतावनी दिँदै अभियानले हिन्दू धर्मावलम्बीहरुको सुरक्षामा गम्भीर हुन बंगलादेश सरकारलाई आग्रह गरेको छ।

टिप्पणीहरू