कात्तिके वर्षाको बितण्डा, सुदूरपश्चिममा मात्रै तीन जनाको मृत्यु,करोडौँको क्षति

कात्तिके वर्षाको बितण्डा, सुदूरपश्चिममा मात्रै तीन जनाको मृत्यु,करोडौँको क्षति

केही दिनयताको अविरल वर्षाले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति भएको छ । बेमौसमी वर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी तीन जनाको ज्यान गएको छ भने करोडौँको धनमाल नोक्सान भएको छ ।

बाढी पहिरोले डोटी र डडेलधुरामा सबैभन्दा धेरै क्षति पुर्याएको छ । प्रहरीका अनुसार बाढी पहिरोमा परी डोटीमा दुई र डडेलधुरामा एक जनाले ज्यान गुमाएका छन् । त्यस्तै डडेलधुरामा दुई जना घाइते भएका छन् भने कैलालीमा एकजना बेपत्ता भएका छन् ।

आइतबारदेखि परेको लगातारको झरीपछि ठाउँ ठाउँमा झरेको पहिरोले ६ घर पुरिएका छन् । बझाङमा ३, डडेलधुरामा २ र डोटीमा एक घर पहिरोले पुरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अविरल वर्षापछि आएको बाढीले बझाङको बग्थाला प्रहरी चौकी डुवानमा परेको छ । त्यस्तै, विभिन्न जिल्लामा ठूलो संख्यामा पशु चौपाया मरेका छन् । पहिरोले डोटीमा २ वटा गोरु, एउटा भैंसी र १५/२० वटा बाख्रा पुरिएको छ । डडेल्धुरामा एउटा भैंसी, एउटा गोरु, दुईवटा बाख्रा र २०/२२ वटा कुखुरा पुरिएका छन् ।

वर्षापछि ठाउँ-ठाउँमा झरेको पहिरोले कैलाली, डोटी, डडेल्धुरा, बझाङ, अछामका सडक अवरुद्ध भएका छन्।

यता, चट्याङमा परी बाजुरामा एउटा गाई मरेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू