बाढीपहिरो पीडितको उध्दारमा जुट्न प्रचण्डको अपील

बाढीपहिरो पीडितको उध्दारमा जुट्न प्रचण्डको अपील

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिमलगायत देशका विभिन्न भागमा गएको बाढीपहिरोमा परेकाहरूको उध्दारमा जुट्न अपील गर्नुभएको छ । आज प्रेस विज्ञप्ति सार्वजनिक गर्दै प्रचण्डले बाढीपहिरो र डुबानमा परी भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गर्दै राहत र उद्धार कार्यमा जुट्न अपील गर्नुभएको हो ।

आइतबारदेखि परेको अविरल वर्षापछि आएको बाढी,पहिरो र डुबानमा परी प्रदेश नं. १, सुदूरपश्चिमलगायत देशका विभिन्न भागहरुमा ३० जनाभन्दा बढीको ज्यान गएको छ । त्यस्तै,झण्डै तीन दर्जनभन्दा बढी बेपत्ता भएका छन् । बेमौसमी बर्षाले थन्काउने बेलाको धानवाली नष्ट हुँदा ठूलो क्षति भएको छ ।अध्यक्ष प्रचण्डले विपदमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता भएकाहरुको यथाशीघ्र खोजीका लागि तीनै तहका सरकार, सुरक्षा निकाय,विभिन्न संघसंस्था, युवा र पार्टीका नेता-कार्यकर्तालाई विशेष आग्रह पनि गर्नुभएको छ।

‘बाढीपहिरोमा फँसेकाहरुको उद्दार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार,बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन म सरकारसँग विशेष अनुरोध गर्दछु । बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपूर्ति दिलाउन पनि सरकारसँग जोडदार माग गर्दछु’, प्रचण्डले भन्नुभएको छ ।

टिप्पणीहरू