बिमलेन्द्र निधि राजदूत भेट्न होटेल र दूतावास
नेपाली कांग्रेसका उपसभापति तथा आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधिले नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेसँग तारन्तार भेट गर्नुभएको छ ।
आइतबार काठमाडौं आइपुगेका रेलाई भेट्न निधि पत्नीसहित हिजो बिहान बत्तिसपुतलीस्थित द्वारिकाज होटेल पुग्नुभएको थियो । बिहान रे बसेकै होटलमा पुगेर भेट्नु भएका निधि साँझ फेरि लैनचौरस्थित दूतावासको डिनर पार्टीमा सहभागी हुनुभएको थियो । सोल्टीमा रेको पुस्तक समीक्षा कार्यक्रम सकेलगत्तै राती नै उहाँ दूतावास छिर्नुभएको बताइएको छ ।
राजदूतका रुपमा काठमाडौँ बस्दा विवादित हुनुभएका रेको पुस्तक पनि विवादमा छ । नेपाल रहँदाका महत्वपूर्ण घटनाक्रम समेटिएको उक्त पुस्तकमा तत्कालीन गृहमन्त्रीका रुपमा निधिले प्रहरी प्रमुख नियुक्तिमा भारतीय सहयोग खोजेको कुरासमेत उल्लेख गरिएको छ ।
नेपाली कांग्रेसमा भावी सभापतिको दौडमा रहेका नेताहरु भारतीय संस्थापनसँगको सम्बन्ध सुधारका लागि प्रयासरत रहेका बेला निधि-रे भेटलाई कांग्रेस वृत्तमा चासोका साथ हेरिएको छ ।
यसअघि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको दूत बनेर सहमहामन्त्री प्रकाशशरण महतको टोली पनि भारत भ्रमणमा गएको थियो भने महामन्त्री सशाँक कोइरालाको टोली अहिले उतै छ ।महत नेतृत्वको टोलीले सत्तारुढ भाजपाका अध्यक्ष,उत्तर प्रदेशका मुख्यमन्त्री लगायतसँग भेटवार्ता गरेको थियो।
टिप्पणीहरू