चिसोसँगै वायुप्रदुषण बढ्यो : मर्निङ वाकमा होश गरौं

चिसोसँगै वायुप्रदुषण बढ्यो : मर्निङ वाकमा होश गरौं

मौसम पूर्वानुमान महाशाखाले मुलुकभर चिसो र प्रदुषण सँगै बढेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम शुरुसँगै प्रदुषणसमेत बढेकाले चिसोबाट बच्न सबैलाई सचेत गराउनुभएको छ ।

पौडेलले छिमेकी मुलुकमा समेत वायुप्रदुषण बढिरहेकाले नेपालमा जाडोयाममा मुख्य शहरहरुमा प्रदूषण बढ्न सक्ने बताउनुभएको हो ।

उहाँले लामो समयसम्म खडेरी परेमा प्रदुषण वायुमण्डल वरिपरि रहने र हावा नचल्ने भएकाले काठमाडौंलगायत वीरगञ्ज, धनगढी,नेपालगञ्ज र जनकपुरलगायतका शहरहरुमा आगामी दिनमा प्रदूषण थप बढ्न सक्ने औंल्याउनुभएको छ ।

वरिष्ठ मौसमविद् पौडेलले भन्नुभयो ‘भारतमा प्रदुषण बढ्दै गएको छ । गत वर्ष पनि नेपालका काठमाडौंलगायत मुख्य शहरहरुमा जाडोयाममा बाक्लो तुवाँलो लागेको थियो । यो वर्ष पनि हिउँदमा वर्षायाम वा चैत,वैशाख, जेठमा जस्तो ठूलो हावाहुरी, र लामो समयसम्म वर्षा हुँदैन । त्यसो हुँदा काठमाडौँ उपत्यकालगायतका शहरमा प्रदुषण बढ्नसक्छ,सबैले बेलैमा तयारी गर्नुपर्छ ।’

पौडेलका अनुसार जाडोयाममा बढी नै प्रदूषण हुने भएकाले घरबाट ननिस्किन, मर्निङ वाकमा नजान र बालबालिका,बृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरु अपनाउन समेत आग्रह गर्नुभएको छ ।

टिप्पणीहरू