सेनाले ल्याएको कासा जहाजको रामकहानी

सेनाले ल्याएको कासा जहाजको रामकहानी

प्रधानसेनापति प्रभुराम शर्मा भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कंदै हुनुहुन्छ । स्थल सेनाध्यक्ष मनोज मकुन्द नरवणेको निम्तोमा नयाँ दिल्ली जानुभएका शर्मालाई राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ ।

काठमाडौंबाट नौ जनाको टोलीसहित शर्मा नेपाली सेनाको आफ्नै कासा जहाज लिएर नयाँ दिल्ली जानुभएको हो । उहाँ आज त्यहि जहाजमा स्वदेश फर्कन लाग्नुभएको छ । सेनापतिको भ्रमण टोली लिएर विदेश उडेको जहाजबारे विगतमा र अहिले पनि विभिन्न चर्चा भएका छन् । आखिर त्यो कासा जहाज सेनाले किन र कसरी खरिद गरेको थियो ? भन्नेबारे धेरै कुरा अहिलेसम्म बाहिर आएको छैन ।

सेनाले तयार पारेको २०७२ देखि २०८२ सम्मको दीर्घकालीन रणनीति र योजनाबमोजिम जहाज खरिद गरिएको बताइन्छ । तत्कालीन सेनापति गौरसमशेर राणाको पालामा पुराना जहाज बिक्री गरेर नयाँ खरिद गर्ने योजनाबमोजिम नै सेनाले जहाज ल्याएको रक्षा प्रवक्ता कृष्ण ज्ञवाली बताउँछन् । राजेन्द्र क्षेत्री प्रधानसेनापति हुँदा जहाज खरिदले बल्ल मूर्तरुप लिएको हो ।

अति बिशिष्ट ब्यक्तिको उडानमा समेत प्रयोग हुनेगरी सरकारले बजेट उपलब्ध गराएअनुसार धेरै पटक अध्ययन गरेरमात्रै उक्त जहाज ल्याइएको समेत मन्त्रालय श्रोतले बताएको छ । अर्थ मन्त्रालय,योजना आयोग,रक्षा मन्त्रालय हुँदै क्याबिनेटले जहाज किन्न स्वीकृति दिएको हो । त्यतिबेला प्रधानसेनापति राजेन्द्र क्षेत्री र प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्थ्यो ।

इण्डोनेशियामा निर्मित सैनिक प्रयोजनको उक्त जहाज खरिदका नेपाली एजेण्ट अजयकेशरी सिंह हुन्,जर्नेल भरतकेशरी सिंहका छोरा । भरतकेशरी चाहिँ पूर्वराजाहरु स्वर्गीय वीरेन्द्र र ज्ञानेन्द्र शाहका मामा नाता पर्दछन् । विभिन्न मोडलका जहाज ल्याउन ९ बर्ष पहिलेदेखि अध्ययन थालिएको हो । नेपालमा बुध्द,यति लगायत निजी क्षेत्रले विशेषतः एटीआर,बिचक्राफ्ट मोडलका साना हवाइजहाज प्रयोग गर्दै आएको अवस्थामा कासा जहाजबारे धेरैले विशेष चासो राखेको बताइन्छ ।

निजी क्षेत्रले प्रयोग गरेकोभन्दा सेनाले प्रयोग गर्ने जहाजको स्वरुप नै भिन्न प्रकृतिको हुने भएपछि सबैजसो निकायले किन फरक खालको जहाज ? भनेर चासो राखेको त्यतिबेला प्रधानमन्त्री कार्यालयका एक जना सचिवले जनआस्थालाई बताएका छन् । उनका अनुसार सेनाले प्रयोग गर्ने जहाजको पछाडिको ढोका पूरै खोल्न मिल्ने हुनुपर्छ । त्यस्तो विशेषता नागरिक उड्डयनमा प्रयोग गरिने जहाजमा हुँदैन । सेनाको प्यारासुट तालिम र उध्दारको निम्ति समेत त्यस्तो जहाज आवश्यक हुन्छ । तर अन्य अवस्थामा साधारण जहाजजस्तै प्रयोग गर्न मिल्छ ।

जहाजको पछाडिको ढोका पूरै खोलिने भएकाले त्यस्तो जहाजलाई नागरिक उड्डयन प्राधिकरणले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने बताउने गरेको छ ।

नेपाली सेनाले कासा जहाज रोज्नुको अर्को कारण सार्कक्षेत्रका आठ वटै मुलुकमा गएर काठमाडौं फर्कंदासमेत इन्धन भर्न अवतरण गर्नु नपरोस् भनेर हो । यी सबै पक्षलाई मनन गरेर नेपाल सरकारले स्वीकृति दिइसकेपछि जहाज नेपाल आउने बेलामा नयाँ सरकारले भाँजो हालेको सैनिक अधिकारीहरु बताउँछन् । २०७४ सालको चुनावपछि गठित एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारले यसवारे निकै खोजीनीति गरेको उनीहरुको बुझाई छ ।

प्रधानमन्त्री देउवा,सेनापति क्षेत्री सबै पदबाट बाहिरिएको अवस्थामा प्रधानमन्त्री ओली र सेनापति पूर्णचन्द्र थापा नियुक्त भएपछि जहाजको खास रामकहानी शुरु भएको हो ।

अहिले त्यहि कासा २३५ मोडलको जहाजमा प्रधानसेनापति शर्माको भ्रमण टोली नयाँ दिल्ली पुगेर आज फर्कंदैछ । एक जना जहाजविज्ञका अनुसार उक्त जहाजलाई सिभिल एभिएसन भर्सनमा बनाएपछि सबैजसो अन्तर्राष्ट्रिय संस्थाले सुरक्षित रहेको प्रमाणित गरिदिन्छन् । तर, मिलिटरी एभिएसन भएकाले उनीहरुले त्यस्तो औपचारिक प्रमाणित गर्दैनन् । त्यहि पक्षलाई टेकेर त्यतिबेलाका प्रधानमन्त्री, रक्षामन्त्री र प्रधानसेनापतिले देखाएको व्यवहारलाई अहिले भएको प्रधानसेनापति शर्माको भ्रमणले उल्टाइदिएको सेनाको उच्चस्रोतको दाबी छ ।

टिप्पणीहरू