एमालेको महाधिवेशन लोगो : सूर्यबाट हँसिया हथौडा आउट, गैँडा इन
नेकपा एमालेले दशौं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । आज ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रष्ठिानमा आयोजित कार्यक्रममा महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गर्नुभएको हो ।
लोगोमा गैँडाले कम्युनिष्ट झण्डा समाएको देखाइएको छ । सूर्य चिन्हसँगै एकसिङ्गे गैँडाले कम्युनिष्ट पार्टीको झण्डा उठाएको चित्र नयाँ लोगोमा राखिएको छ । त्यस्तै, सार्वजनिक गरिएको लोगोमा यसअघिको सूर्य चिन्हभित्रको सुनौलो हँसिया हथौडा भने हटाइएको छ ।
यसअघि विधान महाधिवेशनले सूर्यभित्र हँसिया हथौडा रहेको लोगो पारित गरेको थियो । माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्दोजुल्दो हुने गरि लोगो बनाएको भन्दै त्यतिबेला आलोचनासमेत भएको थियो ।
एमालेले १० औँ राष्ट्रिय महाधिवेशन मंसिर १०, ११ र १२ गते चितवनमा आयोजना गर्दैछ । चितवन एकसिङ्गे गैँडाका लागि प्रख्यात छ । त्यस्तै, गैँडाबारे एमाले अध्यक्ष केपी ओलीका अभिव्यक्तिहरु पनि चर्चामा छन् । केही वर्षअघि एउटा भाषणमा ओलीले पूरै एकसिङ्गे गैँडाबारे चर्चा गर्नुभएको थियो । ओलीले त्यतिबेला आफ्नो भाषणमा जीवनमा एकपटक एकसिङ्गे गैँडा नहेर्ने मानिसको जीवन निरर्थक हुने बताउनु भएको थियो ।
लोगो सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले महाधिवेशनले एमालेको अन्तरिक राजनीतिको मात्र नभई मुलुककै दिशाबोध गर्ने दाबी गर्नुभएको छ । उहाँले महाधिवेशनमा देशभरबाट आठ लाख सदस्य सहभागी हुने जानकारी दिँदै भोलिसम्ममा सबै ठाउँबाट प्रतिनिधिको टुंगो लाग्ने पनि बताउनुभयो ।
त्यस्तै, प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको प्रचार प्रसारमा डिजिटल माध्यमलाई उपयोग गर्ने जानकारी दिनुभयो । भित्ते लेखन र पोष्टर नछापिने प्रष्ट पार्दै उहाँले सञ्चारमाध्यम र पार्टीको वेवसाइटबाट प्रचारप्रसार गरिने बताउनुभएको छ । यसबारे सल्लाह सुझावका लागि पार्टी अध्यक्ष ओलीले बुद्धिजीवी र पत्रकारहरुसँग अन्तरक्रिया गर्ने भट्टराईले जानकारी दिनुभयो ।
बुद्धिजीवी परिसद्को आयोजनामा त्यस्ता अन्तरक्रिया देशका मुख्य शहरहरुमा गर्ने बताइएको छ । त्यस्तै, चितवन र नजिकको जिल्लालाई समेटेर प्रचारप्रसार डेस्क र उच्चक्षमताको वाइफाइ जडान गरेर पत्रकारलाई सहज रिपोर्टिङको व्यवस्था मिलाइने पनि उहाँले बताउनुभयो ।
टिप्पणीहरू