तरकारीको भाउ फेरि आकाशियो

तरकारीको भाउ फेरि आकाशियो

ठूला चाडबाड सकिन नपाउँदै तरकारीको भाउ पुनः आकाशिएको छ । पेट्रोलियम पदार्थसँगै तरकारीको भाउले आकाश छोएपछि उपभोक्ताहरुलाई चुल्हो बाल्न सकस हुँदै गएको छ । थोकबजारमा तरकारी प्रतिकिलो ५० रुपैयाँसम्म बढेको छ । खुद्रा पसलमा छोइनसक्नु भएको उपभोक्ताहरु बताउँछन् ।

कुनकुन तरकारीको बढ्यो भाउ ?

बजारमा प्रायः सबै खालका तरकारीको भाउ बढेको छ । नेपालीको भान्सामा नभई नहुने आलुको भाउ समेत उकालो लागेको छ । गत सातासम्म प्रतिकेजी औसत मूल्य ४८ मा रुपैयाँ रहेको रातो आलुको भाउ बढेर थोकमै ६० रुपैयाँ पुगेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भिण्डी, घिरौंला, बोडी, परवरलगायत अधिकांश तरकारीको मूल्य बढ्न थालेको छ । प्याज, गाजर र काउलीको मूल्यमासमेत यो साता वृद्धि भएको छ ।

सबै खालको तरकारी पकाउन प्रयोग हुने गोलभेँडाको मूल्य पनि अरु बेलामाभन्दा निकै बढेको छ । हिजो कालिमाटी तरकारी बजारमा काउलीको भाउ एक सय २० रुपैयाँ प्रतिकिलो थियो भने खुद्रा बजारमा एक सय ७० रुपिँयासम्म बिक्री भइरहेको पाइएको छ ।

थोक बिक्रेताको पसलमा घिऊ सिमीको मूल्य प्रतिकिलो एक सय २०, परबरको एक सय, टाटे सिमी एक सय २०, तितो करेला एक सय ४० पुगेको छ । हरियो सागपातको मूल्य छोइनसक्नु छ । जबकी यो समय हरियो सागपातको मूल्य सस्तो हुने बेला हो ।

किन बढ्यो तरकारीको भाउ ?

मागको तुलनामा तरकारीको आयात र उत्पादन कम भएका कारण भाउ आकाशिएको बताइन्छ । यो वर्ष बेमौसमी वर्षाले तरकारी नष्ट गरेको हुनाले तरकारीको भाउ बढेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बताएको छ । उत्पादन कम भएको र चाहिने जति परिमाणमा तरकारी नआएकाले अभाव हुँदा तरकारीको भाउ बढेको समितिको भनाइ छ ।

टिप्पणीहरू