महिनामा २० युनिट बिजुली बाल्ने २६ लाख घरपरिवार

महिनामा २० युनिट बिजुली बाल्ने २६ लाख घरपरिवार

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राज्यले निर्दिष्ट गरेको समाजवादको बाटो पहिल्याउन सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । ललितपुरको हात्तीवनस्थित टेवा बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक सेयरसदस्य सम्मान समारोहमा उहाँले सहकारीलाई संविधानले प्रमुख आर्थिक अंगका रुपमा स्वीकार गरेको बताउनुभयो ।

अर्थसामाजिक विकासमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै ऊर्जामन्त्री भुसालले संस्कृति र संस्कारलाई पनि सहकारीले पुस्तान्तरण गर्न सहयोग गरेको उल्लेख गर्नुभयो । सामाजिक न्यायका लागि आफू राजनीतिमा आएको बताउँदै मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका नेपाली जनतालाई फाइदा पुग्नेगरी २० युनिटसम्म खपत गर्ने जनतालाई निःशुल्क विद्युत उपलब्ध गराएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘बीस युनिट बत्ति बाल्ने २६ लाख घरपरिवार अर्थात् एक करोड ३० लाख बढी नेपाली जनताले फाइदा पाउने गरी निर्णय लिइएको छ । जुन आधारभूत जनताका लागि राहत हुनेछ ।’ विद्युत महशुलदर घटाउने र स्वदेशी खपत बढाउने नीति लिएको उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो, ‘हाम्रै पानीबाट उत्पादन भएको विद्युत् प्रयोग गरौं, डलर तिरेर ल्याएको एलपी ग्यास प्रयोगमा कटौती गरौं ।’

पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीसाधनभन्दा विद्युतीय सवारी साधन नै सस्तो हुने भएकाले आगामी दिनमा त्यतातर्फ लाग्न उहाँले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनको नकारात्मक प्रभावबाट बच्न पनि विद्युतनै प्रयोग गर्न उपयुक्त हुन्छ ।’

कार्यक्रममा सहकारीका ४० जना संस्थापक सदस्यलाई सम्मान गरिएको छ । संस्थाका अध्यक्ष कुमार गिरीले आफ्ना सदस्यलाई आधुनिक वित्तीय सेवाका सार्थ सामाजिक अभियान चलाउँदै आएको बताउनुभयो ।

टिप्पणीहरू