पर्दाको प्रेम जब मनभित्रै प्रकट हुन्छ
- राजेन्द्र स्थापित
सीने में सुलगती है अरमाँ
आँखो में उदासी छाइ है,
ये आज तेरी दुनियाँ से हमेँ
तकदीर कहाँ ले आइ है ।
कुछ आँखोमें आँशु बाँकी है
जो मेरे गम के साथी है,
अब दिल है ना दिलके अरमां है
बस, में हँ मेरी तनहाई है ।
ना तुझे से गिला कोइ हमको
ना कोइ शिकायत दुनिया से,
दो चार कदम जब मंजिल थी
किस्मत ने ठोकर खाइ है ।
कुछ एैसी आग लगी मन मेँ
जीने भी ना दे, मरने भी ना दे,
चुप हुँ तो कलेजा जलता है
बोलूँ तो तेरी रुसवाई है ।
गीतकार प्रेम धवनद्वारा रचित यो गीत हिन्दी चलचित्र ‘तराना’ को हो, जुन सन् १९५१ मा प्रदर्शन भयो । चलचित्रमा यो गीत नायक दिलिपकुमार र नायिका मधुबालाले गाएका हुन् । पाश्र्वगायक र गायिका थिए– तलत महमूद र लता मंगेशकर । मधुबालाको वास्तविक नाउँ हो– मुमताज जहाँ बेगम देहल्बी । ९ वर्षकै उमेरमा सन् १९४२ मा बनेको चलचित्र ‘वसन्त’ मा काम गरिन्, बेबी मुमताजको नाउँबाट । मुमताजको नाउँबाट उनको अन्तिम चलचित्र हो– नील कमल । सन् १९४७ मा निर्मित यो चलचित्रका नायक थिए– राज कपूर । यो चलचित्र खेल्दा मुमताजको उमेर १४ वर्ष थियो । त्यसपछि चलचित्र ‘महल’ मा उनी मधुबाला बनिन् । यो फिल्ममा उनका नायक थिए– अशोकुमार । फिल्मले सफलता हासिल गरेपछि मधुबाला ‘दुलारी’ र ‘बेकसुर’ मा देखा परिन् ।
त्यसो त दिलिपकुमार र मधुबालाको भेट सन् १९४४ मा प्रदर्शित फिल्म ‘ज्वारभाटा’ को सुटिङको दौरान भइसकेको थियो । दिलिपकुमारको यो पहिलो फिल्म थियो । मधुबाला त्यसबेला मात्र ११ वर्षकी थिइन् । सन् १९५१ मा ‘तराना’ फिल्म बन्ने भयो । नायकमा दिलिपकुमार र नायिकामा मधुबाला छनौट भए । मधुबाला १८ वर्षकी भइसकेकी थिइन् । त्यसो त दिलिपकुमार उमेरमा मधुबालाभन्दा ११ वर्ष जेठा थिए ।
त्यसबेलाका नायिकाद्वय कामिनी कौशल र बैजयन्ती मालासँग ‘अफेयर’ थियो तर चलचित्र महलपछि नै ‘भारतीय सिनेमाकी विनस’ (प्रेम, यौन र सुन्दरताकी देवी) र पछि ‘वियोगान्त चलचित्रकी श्रेष्ठ अभिनेत्री’ को खिताब पाएकी मधुबालाको प्रेममा परे । दुवै प्रेमालापमा मग्न भए । चलचित्र तरानाका ड्रेस डिजाइनरमार्फत दुवैले प्रेमपत्र आदानप्रदान गर्थे । मधुले पहिलो प्रेमपत्रमै लेखिन्, ‘तपाईं मलाई प्रेम गर्नुहुन्छ भने यो पत्र र रातो गुलाफको फूल स्वीकार्नुस् ।’ दिलिप पनि मधुलाई चाहन्थे, त्यसैले खुशी–खुशी मधुले पठाएको पत्र र रातो गुलाफ स्वीकारे । यसपछि दुवैको प्रेम उत्कर्षमा पुग्यो । दिलिप मधुसँग भेट्न सुटिङस्थलमा पुग्थे । घण्टौं एकान्तमा गफिन्थे । घरसम्म पु¥याइदिन्थे ।
उता मधुका पिता अताउल्ला खान दिलिपलाई मन पराउँदैनथे । दिलिपको उमेरलाई बाधकको रुपमा लिन्थे । मधुकी बहिनी मधुर मान्थिन्, दिलिप–मधु एक–अर्काको निम्ति बनेका हुन् । उनले बाबुलाई यो कुरा धेरैपटक सम्झाउन खोजिन् तर अताउल्ला आफ्नो अडानमा अडिग रहे । छोरी मधुलाई दिलिपसँगको सम्बन्ध तोड्न दबाब दिँदै गए तर मधु पनि टसमस भइनन् । लुकिछिपी दिलिपसँग भेट्दै गइन् । पछिल्लो समय भेटघाट सुटिङ स्थलमा मात्रै सीमित भयो । यसरी नै सात वर्षसम्म दुवैले एकार्कालाई गहिरो प्रेम गरे । यसबीच १९५७ मा निर्देशक बी.आर. चोपडाले ‘नयाँ दौर’ को सुटिङ थाले । कलाकार उनै दुई थिए– दिलिप र मधु । निर्देशक चोपडा ४० दिन सुटिङ भूपालमा गर्न चाहन्थे । तर, अताउल्ला छोरीलाई मुम्बईबाहिर पठाउन र दिलिपसँग रम्न दिन चाहन्नथे । यसै विवादमा अताउल्लाले मधुलाई चलचित्र नै छाड्न लगाए । चोपडाले मधुको स्थानमा वैजयन्ती मालालाई लिएर चलचित्र पूरा गरे । फिल्मको पोष्टरमा चोपडाले मधुलाई पनि राखे तर रातो घेरा हालिदिए । यो कुरालाई लिएर अताउल्ला चोपडाविरुद्ध अदालत गए । चोपडाले पनि क्षतिपूर्ति दाबी गरे । अदालतमा मुद्दा चलिरहेको समयमा अखबारले दिलिप र मधुको प्रेम कथालाई लिएर अनेक कुरा लेख्यो । दिलिप अदालतमा निर्देशक चोपडाको पक्षमा उभिए तर न्यायाधीशसमक्ष स्वीकार गरे, ‘म मधुलाई प्रेम गर्छु र गरिरहनेछु ।’
अदालतको फैसलापछि दिलिप मधुसँग बिहे गर्न राजी भए । तर मधु बाबुलाई छाडेर दिलिपको घर जान चाहिनन् । उल्टै दिलिपले अताउल्लासँग माफी माग्नुपर्ने जिकिर गर्न थालिन् । दिलिप त्यसो गर्न तत्पर भएनन् । मधुले घरमा गइसकेपछि भए पनि एकपटक आफ्नो बाबुसँग क्षमा माग्न दबाब दिइन् । दिलिप त्यसो गर्न पनि तयार भएनन् । यसै विवादमा दुवैको प्रेम सम्बन्ध टुट्यो । नयाँ दौरपछि दुवैले अन्तिमपटक ‘मुगल–ए–आजम’ मा सँगै खेले । तर, त्यतिञ्जेलसम्ममा दुवैबीच सम्बन्ध नाममात्रको भइसकेको थियो । तर, त्यो बेला पनि अताउल्लामा डर थियो कि मधु–दिलिपबीच पुनः सुलह नहोस्, त्यसैले सुटिङको दौरान छोरीलाई एक्लै छाड्न चाहेनन् । फिल्मका निर्देशक के. आसिफले अताउल्लाको व्यवहारबाट दुःखी बने । उनलाई थाहा थियो, अताउल्ला तास खेल्न रुचाउँथे । त्यसैले के. आसिफले आफ्ना साथी तारकलाई अताउल्लासँग तास खेल्न लगाएर उनलाई बिजी बनाए । दिलिप र मधुबीच रोमान्टिक दृश्य सुटिङ गर्नुपर्ने एक समयमा त तारकलाई २५ हजार भारु दिई आसिफले भने, ‘आज जित्न देऊ, त्यो साला अताउल्लालाई ।’
मुगल ए–आजमपछि मधुले चलचित्र कम खेल्न थालिन् । उनी दिलिपकुमारसितको सम्बन्ध अन्त्यपछि दुःखी हुन थालेकी थिइन् । मुटुको व्यथाबाट ग्रस्त हुन थालेकी थिइन् । यसबीच अर्का कलाकार शम्मी कपुर उनको पछि लागे । शम्मी मधुलाई जीवनसाथी बनाउन चाहन्थे तर शुरुमा साह्रै दुब्लो छौं र पछि नराम्रोसँग मोटायौ भनेर मधुले उनको पिछा छुटाइन् । स्मरणीय छ, मधुले ‘दुब्लो छौ तिमी’ भनेपछि वियर सेवन गरी शम्मी मोटाएका थिए । पछि मधुले गायक तथा नायक किशोरकुमारसँग बिहे गरिन् तर धेरै समय सँगै बिताइनन् । उनको निधन ३६ वर्षको उमेरमा सन् १९६९ को फेुब्रअरी २३ मा भयो ।
उता, महमुद युसुफ खान उर्फ दिलिपकुमारले सन् १९६६ मा नायिका शायरा बानूसँग बिहे गरे । त्यसो त एक जमानामा शायराकी आमा नसीम बानुलाई मन पराएका थिए । नसीम दिलिपभन्दा ६ वर्ष जेठी थिइन् भने शायरा २२ वर्ष कान्छी । नसीम भारतीय सिनेमाकी पहिलो ‘ब्युटी क्विन’ र ‘महिला सुपरस्टार’ थिइन् । दिलिपले पछि सन् १९७९ मा हैदरावादकी आस्मां साहेबासँग दोस्रो बिहे गरे तर तीन वर्षमै विच्छेद भयो । मधुबालाले २२ वर्ष लामो फिल्मी जीवनमा कुल ७४ वटा चलचित्रमा खेलिन्, तीमध्ये चार चलचित्रमा उनका नायक दिलिपकुमार थिए ।
यो पनि :
यसरी बन्यो भ्यासलिन
रोबर्ट चेजबुरफ अमेरिकाको पेन्सिलभानियास्थित तेल क्षेत्रमा काम गर्थे । उसो त उनको जन्म लण्डनमा भएको थियो तर अमेरिकामा हुर्के । कारखानामा कार्यरत मजदुर जिउमा कुनै घाउ हुँदा वा आगोले पोल्दा त्यहाँ रहेको ड्रिलिङ मेसिनको रिङमा जमेको एक प्रकारको रंगहीन पदार्थ लेपन गरेर राहत लिन्थे । रोबर्ट यो कार्य हेरिरहन्थे । त्यसलाई शुद्द पारी मल्हम बनाए, जसको नाउँ ‘भ्यासलिन’ राखे । यथार्थमा भ्यासलिन एउटा पेट्रोलियम जेली (थलथले वस्तु) हो । रोबर्ट आजिवन यो पदार्थको भक्त रहे । ९६ वर्षको उमेरमा सन् १९३३ मा मृत्यु भएका उनी भन्थे, ‘हरेक दिन म एक चम्चा भ्यासलिन खान्थेँ ।’
टिप्पणीहरू