आज पनि उपत्यकामा विभिन्न कार्यक्रम हुँदै
राष्ट्रिय युवा संघ नेपालको भक्तपुर जिल्ला कमिटीका पदाधिकारी र सदस्य, जिल्लास्थित पालिका कमिटीका पदाधिकारी र वडा कमिटीका अध्यक्ष÷संयोजक र सदस्यहरूलाई जिल्लास्तरीय जनपरिचालन उप–कमिटीको बैठकमा डाकिएको छ ।
बैठक बिहान ७ बजे जिल्ला पार्टी कार्यालय, सूर्यविनायकमा बोलाइएको हो ।
भक्तपुरमा दिव्यडाँडा खानेपानी ट्याङ्कीको उद्घाटन गरिएको छ । सूर्यविनायक नगरपालिका ९, चामुथलीमा ट्याङ्की उद्घाटन कार्यक्रम राखिएको हो ।
सर्वोच्च अदालतको अघिल्तिर आज पनि नेपाल बारले बिरोध कार्यक्रम गर्दैछ । प्रधानन्यायाधीशको राजीनामा माग्दै बारले आह्वान गरेको कार्यक्रममा कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर साढे ९ बजेदेखि सर्वोच्च अदालतको परिसरमा धर्ना र नाराबाजी गर्ने कार्यक्रम राखेका हुन् ।
आजै बिहान साढे ११ बजे संसदको विधायन व्यवस्थापन समितिको बैठक डाकिएको छ । बैठक समितिको सभाकक्ष, सिंहदरबारमा बोलाइएको हो ।
यता आधुनिक साहित्य परिषद्को चौथो वार्षिकोत्सव र साहित्यिक महोत्सव कार्यक्रम राखिएको छ । मध्यान्ह १२ बजे विशाल मल्टी स्पोर्ट्स ट्रेनिङ एन्ड टुर्नामेण्ट, सामाखुसीमा महोत्सव आयोजना हुँदैछ ।
स्वतन्त्र नागरिकहरूले आज पनि नेपाल बारको आन्दोलन र सर्वोच्च अदालतमा भएको बेञ्च बहिष्कार तथा बेथितिविरुद्ध प्रदर्शन गर्दैछन् । उनीहरुले मध्यान्ह १२ बजे नयाँ बानेश्वरमा प्रदर्शनकोे कार्यक्रम राखेका हुन् ।
संयुक्त राष्ट्रवादी, देशभक्त गठबन्धनले २०४७ को संविधान लागू गर्न निरन्तर बिरोध गर्ने भएको छ । सोही क्रममा उसले आज दिउँसो १ बजे माइतीघर मण्डलामा कार्यक्रम राखिएको जनाएको छ ।
संयुक्त विद्यार्थी संगठनले चर्को मूल्य वृद्धिविरुद्ध सडक बहस कार्यक्रम गर्दैछ । संगठनले दिउँसो २ बजे माइतीघर मण्डलामा कार्यक्रम राखेको हो ।
सीके राउत नेतृत्वको जनमत पार्टीले हरेक वडा र टोलमा युवादस्ता निर्माण तथा प्रक्षिक्षण गर्ने बताएको छ । तर, स्थान र समय भने खुलाएको छैन ।
नेपाली काँग्रेसको मुख्यालयमा आज अर्को जिल्लाका काँग्रेसीहरु पनि बिरोधमा उत्रिएका छन् । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरमा अवैध तवरले गरिएका स्थानीय अधिवेशनहरूको खारेजी तथा सदस्यता पुनरावलोकनको माग गर्दै उनीहरु रिले अनसनमा बसेका हुन् ।
नेपाली काँग्रेस डडेलधुराको संस्थापनपक्ष एवम् जिल्ला सभापति कर्णजीत मल्लको नेतृत्वमा रिले अनसन बसेको बताइन्छ । यसअघि रौतहटका काँग्रेसीहरुले झण्डै चार महिनादेखि त्यहाँ कार्यक्रम गर्दै आएका छन् । डडेलधुराका काँग्रेसीहरु हिजोदेखि धर्नामा बसेका हुन् ।
नेकपा (एमाले) ले महाधिवेशनमा जनपरिचालन गर्ने योजनाका साथ राष्ट्रिय युवा संघ जिल्ला कमिटीको बिस्तारित बैठक डाकेको छ । कार्यक्रम कोरियन मार्शल आर्ट, विशालचोक, नखिपोट, ललितपुरमा दिउँसो ४ बजे हुने बताइएको छ ।
टिप्पणीहरू