अध्यक्ष ओलीका उम्मेदवार ४ भोट ल्याएर पराजित

अध्यक्ष ओलीका उम्मेदवार ४ भोट ल्याएर पराजित

एमालेले फागुन २१ गते हुने चुनावमा प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न भोलिसम्मको म्याद दिएबमोजिम आज धेरैजसो निर्वाचन क्षेत्रमा मतदान गरिएको छ । बाराको निर्वाचन क्षेत्र नम्बर ३ स्थित पार्टी कार्यालयमा भएको मतदानमा यसअघिकी सांसद तथा हालैको महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित ज्वाला साहलाई जम्मा ४ भोट प्राप्त भएको छ । 

 जम्मा ४६ जना मतदाता रहेको उक्त क्षेत्रमा आज भएको मतदानमा सतप्रतिशत मत खसेको थियो । जसमा पार्टी जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेले ४६ मत पाएर सिफारिसको पहिलो रोजाइमा परेका छन् ।अर्का उम्मेदवार एम समिउल्लाहलाई ३७, सीमा ठकुरीले ३६,गायत्रीदेवी साहले ५,ज्वाला साहलाई ४, केन्द्रीय सदस्य सीता सुवेदीले १ भोट र टिना सुवेदीलाई शून्य मत प्राप्त भएको छ । सुवेदी क्षेत्र नम्बर १ बाट यसअघि निर्वाचित सांसद अच्युत मैनालीकी अर्धाङ्गिनी हुन् ।

उक्त निर्वाचन क्षेत्रमा रहेका जिल्ला कमिटी सदस्यहरु,पार्टीको सो क्षेत्रका वडा कमिटी अध्यक्ष र त्यस क्षेत्रका पालिका पदाधिकारीहरु मतदाता रहने व्यवस्था छ ।  पार्टी कार्यालय कलैयामा सर्वसम्मतको प्रयास भए पनि अन्ततः मतदानबाट उम्मेदवार चयन गरिएको छ । 

पहिले आठ जनाको उम्मेदवारी परेकामा किशोर शर्माले फिर्ता लिएपछि सात जना कायम भएको बताइन्छ । त्यसपछि पनि गरिएको सहमतिको प्रयास असफल भएपछि मतदानमा जाने निर्णय गरिएको थियो ।

एमाले केन्द्रीय कार्यालयबाट गरिएको अन्तरपार्टी निर्देशनमा तीन जनाको नाम सिफारिस गर्न भनिएको तर सात जनाबीच सहमति हुन नसकेपछि मतदान गर्न बाध्य हुनुपरेको बताइन्छ । यसअघि समानुपातिक उम्मेदवारका लागि पार्टी कमिटीमा कुनै छलफल नै गरिएको थिएन । 

आज निर्वाचन क्षेत्रमा भएको मतपरिणाम भोलि जिल्ला कमिटी र प्रदेश कमिटी हुँदै पार्टी मुख्यालयमा पठाइँदै छ ।

टिप्पणीहरू