नेपालका लागि नयाँ चिनियाँ राजदूत तोकिए

नेपालका लागि नयाँ चिनियाँ राजदूत तोकिए

जनगणतन्त्र चीनले नेपालका लागि नयाँ राजदूतमा परराष्ट्र मन्त्रालयको एसियाली मामिला विभागका उप–महानिर्देशक चाङ माओमिङलाई मनोनयन गरेको छ । चीनले चाङको नियुक्तिका लागि आवश्यक एग्रिमो नेपाल सरकारसमक्ष बुझाएको छ ।

नेपालस्थित चिनियाँ दूतावासले नयाँ राजदूतको एग्रिमो हिजो परराष्ट्र मन्त्रालयमा पेश गरिसकेको छ । तीन वर्षे कार्यकाल पूरा गरेर पदोन्नतिसहित दुई साताअघि स्वदेश फर्किएका पूर्व राजदूत छन् सोङको स्थानमा चाङ माओमिङलाई नियुक्त गर्न लागिएको हो ।

छन् हाल परराष्ट्र मन्त्रालयको नीति योजना विभागमा महानिर्देशकका रूपमा कार्यरत छन् । उक्त विभागले विश्व परिस्थितिको अध्ययन,अन्तर्राष्ट्रिय सम्बन्धका रणनीतिक विषयहरूको विश्लेषण,कूटनीतिक नीति निर्माण तथा महत्वपूर्ण कूटनीतिक दस्तावेज र वक्तव्यको तयारी गर्दछ । 

नयाँ नियुक्त हुन लागेका राजदूत चाङ पनि नेपालको राजनीति तथा कूटनीतिक वृत्तमा नौलो नाम होइन । यसअघि विभिन्न समारोहमा चाङको नेपाली राजनीतिक नेतृत्व तथा उच्च अधिकारीहरूसँग पटक–पटक भेटवार्ता भइसकेको छ । उनी नेपालको आन्तरिक तथा वाह्य मामिलाबारे जानकारी राख्ने चिनियाँ कूटनीतिज्ञका रूपमा चिनिन्छन् ।

टिप्पणीहरू