मिष्टरले सिष्टर भन्दा म्याडम मर्माहत !

जनसंख्याको आधा आकाश ढाक्ने महिलाको पीडा सुरक्षा फौजमा अलिक बेग्लै छ । प्रधानसेनापति र दुईतारे जर्नेलहरुसहितको पिएसओज बैठकमा यसबारे अचम्मको एजेण्डा आएको छ । महिला चिकित्सकहरुलाई ‘डाक्टर’ उल्लेखित अलग्गै व्याच दिनुपर्ने कुरा यसरी प्रस्तावको रुपमा अघि बढ्दा स्वीकृतचाहिँ हुन सकेन । फौजको नियमानुसार  चिकित्सक पनि सैन्य पोशाकमै हुन्छन् । जतिबेला पनि एप्रोन लगाइरहने कुरा भएन । युनिफर्ममा रहँदा प्राविधिक हो कि इन्फेन्ट्री, छुट्टयाउनै गाह्रो । डाक्टरले मात्रै होइन, नर्सले पनि स्टेटेथेस्कोप भिरेका हुन्छन् । यस्तो हुँदा नर्सलाई डाक्टर, डाक्टरलाई नर्स भन्ने अवस्था सिर्जना भइदियो । अस्पतालमा सरसफाई गर्नेले पनि एप्रोन लगाएका हुन्छन् । विरामी र कुरुवाहरुले ठम्याउन नसकेर तिनलाई पनि डाक्टर भनिदिन्छन् । नर्सलाई डाक्टर, डाक्टरलाई सिष्टर भन्दा केही असजिलो हुने कुरा उक्त बैठकमा उठ्यो । छलफल हुँदै जाँदा ‘सेतो एप्रोन लगाएपछि डाक्टर भन्ने बुझिहालियो नि’ भनेर कुरा उठेपछि गत हप्ता यो प्रस्ताव त्यत्तिकै तुहिएको बताइन्छ । 

पहिला महांकाल, संकटास्थित श्री ३ चन्द्र मिलिटरी अस्पताल (वीरसँगैको) मा अलग पोशाक थियो । नर्सले सेतो साडी र रातो स्वेटर लगाउँथे । अहिले सेनाको पोशाक नै लगाउने प्रचलन छ । महिला डाक्टरहरुमा सामाजिक, शारीरिक कारणले फिल्डमा जान समस्या हुने । त्यसमाथि हाकिमका पत्नी (रानीसाहेब) हरुसँग नजिकिए अवसर लिने चलन पनि उस्तै । रिंकु नामक फिजिसियन रानीसाहेब (प्रधानसेनापतिपत्नी) सँगको निकटताका कारण अमेरिकाको हवाई पुगेकी छन् ।  ज्योति राना र नम्रता महराबीच पनि हुनेवाला प्रधानसेनापतिपत्नीको नजिक को हुने भन्ने होडबाजी छ ।

प्रहरीमा पनि त्यस्तै । प्रहरीकी डाक्टर आशाले एकजना पूर्वआइजिपीपत्नीको सेवा गरेबापत अस्पतालमा उधुमै मच्चाएकी थिइन् । प्रहरीका अढाई सय लेखापालमा १० जना मात्रै महिला छन् । द्वन्द्वपछि पनि महिलाको संख्या बढेन । तर, विभिन्न युनिटमा महिलाको सहभागिता ४५ प्रतिशत पु¥याउने भनिएको छ । सोमबारको पिसिसी बैठकमा यो कुरा उठ्यो । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा महिलाको संख्या सन् २०२० सम्म २० प्रतिशत अनिवार्य पठाउनुपर्ने प्रतिबद्धता छ । तर, नेपालमा अहिलेसम्म ३३ प्रतिशत पु¥याउन टालटुले शैलीमा काम भएजस्तो अवस्था मात्रै छ ।
यसैबीच सेनाको राष्ट्रिय निकुञ्ज हेर्ने ठाउँ जर्नेलको दरबन्दी भए पनि प्रधानसेनापतिका आफन्त कर्णेल कृष्ण सापकोटाले तीन वर्षदेखि हेरिरहेका थिए । अब प्रधानसेनापति राजेन्द्र क्षत्री घर जाने भएपछि साउन ३ गते जोन्सन खड्कालाई चार्ज बुझाएका छन् । सिपाहीबाट आएका सापकोटा एनडिसी कोर्स गर्न विदेश जाँदैछन् । उनले जाते–जाते १ सय २५ को टोपीलाई पाँच सयको टोप किन्ने बनाएका छन् । त्यसमा जाली हुँदैन । जबकि निकुञ्ज ड्युटीमा जालिदार टोपी अनिवार्य मानिन्छ । तक्मा पनि लगाउनुपर्ने र दुई सयको तक्मालाई ९ सयमा किन्ने बनाएका छन् । निकुञ्जभित्रका निर्माणको प्रतिवेदन पनि नबुझाई उनी त्यहाँबाट उम्किँदैछन् । 

टिप्पणीहरू