कपिलवस्तुमा हैजा रोक्न खोप अभियान
झण्डै डेढ महिनादेखि कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणमा नआएपछि आजबाट खोप कार्यक्रम नै थालिएको छ । कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला पूर्णरूपमा नियन्त्रणमा आउन नसकेपछि हैजाविरुद्धको खोप शुरु गरिएको हो ।
कपिलवस्तुका पाँचवटा पालिकाहरु झाडा पखालाबाटग्रस्त बन्दै गएपछि हैजाविरुद्धको कोलेरा भ्याक्सिन दिन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जनआस्थासँग कुराकानी गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका कार्यालय प्रमुख हेमराज पाण्डेले खोप बाँड्न स्वास्थ्य मन्त्रालयको टोली काठमाडौंबाट कपिलवस्तु पुगेको छ ।
उहाँका अनुसार एक महिनाभन्दा बढी समयदेखि कृष्णनगर, शिवराज, महाराजगञ्ज नगरपालिका तथा यशोधरा र विजयनगर गाउँपालिकामा फैलिएको झाडापखाला नियन्त्रणमा आउन सकेको छैन । खोप कार्यक्रम यशोधरा गाउँपालिकामा आजदेखि अभियानका रुपमा शुरु भएको छ ।
त्यस्तै कृष्णनगर, शिवराज र महाराजगञ्ज नगरपालिका तथा विजयनगर गाउँपालिकामा भने पर्सिदेखि खोप दिइने छ । झाडापखाला बिरुद्धको खोप मुखबाट खुवाइन्छ । खोपको पहिलो मात्रा खाएको १४ देखि २८ दिन भित्रमा दोस्रो मात्रा खुवाइने जानकारी दिइएको छ ।
खोप अभियान हैजाको प्रकोप देखिएको कपिलवस्तुका कृष्णनगर, यशोधरा, महाराजगञ्ज, शिवराज र विजयनगरका सबै वडामा सञ्चालन हुने बताइएको छ । खोप एक वर्षमाथि उमेर समूहका सबैलाई तोकिएका केन्द्रमा निःशुल्क उपलब्ध गराइने छ । कपिलवस्तुमा एक वर्षमाथिका २ लाख ५२ हजार ३ सय ६३ नागरिकलाई यो खोप दिइने लक्ष्य राखिएको पाण्डेले बताउनुभयो ।
टिप्पणीहरू