शान्ति सम्झौताका डेढ दशक : पीडित र तिनका पीडा जहाँको त्यहीँ
विस्तृत शान्ति सम्झौताको डेढ दशक वर्ष पूरा भएको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो ।
सोही अवसरमा ८७ वटा संघ संस्थाले संक्रमणकालीन न्याय प्रक्रियालाई निश्कर्षमा पुर्याउन सरकारसँग माग गरेका छन् । उनीहरुले द्वन्द्वपीडितहरुको तर्फबाट संयुक्त रुपमा आवाज उठाउँदै सत्यनिरुपण र बेपत्ताको छानबिन प्रक्रियालाई तत्काल टुंगोमा पुर्याउन माग गरेका छन् ।
४१ वटा संघ संस्था, ४० वटा राष्ट्रिय संस्था र ६ वटा अन्तर्राष्ट्रिय संस्थाहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै, द्वन्द्वपीडित संस्था तथा मानवअधिकार संगठनहरू नेपालका हजारौं द्वन्द्वपीडितहरूका लागि सत्य तथा न्याय दिलाउने प्रक्रियामा भइरहेको ढिलाइ र धोकाधडीलाई अन्त्य गर्न आग्रह गरेका छन् ।
दश वर्षभन्दा लामो द्वन्द्व अन्त्यको घोषणासहित सरकार र तत्कालीन नेकपा माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । विस्तृत शान्ति सम्झौताले द्वन्द्वकालमा गरिएका मानवअधिकार उल्लंघनका घटनाहरूको निष्पक्ष छानबिन गरी पीडितलाई न्याय प्रदान गर्ने प्रतिबद्धता जनाइएको थियो ।
तर, त्यसको कार्यान्वयन गर्न सरकार लगातार विफल रहेको उनीहरुको ठहर छ । द्वन्द्वपीडितका आँखाका आँसु अझै पनि ओभाएका छैनन् भन्दै उनीहरुले आज त्यो दिनको सम्झना गरेका हुन् ।
विस्तृत शान्ति सम्झौताले औपचारिक रूपमा एक दशक लामो सशस्त्र द्वन्द्वको अन्त्य गरेको थियो । तर ६० दिनभित्र ‘बेपत्ता पारिएका’ व्यक्तिको स्थिति सार्वजनिक गर्ने र ‘मानवअधिकारको गम्भीर उल्लंघन र मानवताविरुद्धको अपराधमा संलग्न रहेकाहरूको बारेमा सत्य अनुसन्धान गर्ने’ प्रतिबद्धता जनाइएको आज १५ वर्ष बितेको छ ।
डेढ दशक बितिसक्दा पनि पीडित तथा तिनका परिवारलाई आफन्तको स्थितिका बारेमा जानकारी पाउन लामो प्रतिक्षा गराइएको उनीहरुको आरोप छ । आयोग गठन गरिएको सात वर्ष बित्न लाग्दासमेत सत्य अनुसन्धानको झुठो प्रक्रियामा पिडीतलाई अल्मल्याइएको भन्दै उनीहरूले आक्रोशसमेत व्यक्त गरेका छन् ।
सम्झौतामा उल्लेख भएअनुसार द्वन्द्वको अन्त्य, संविधानसभाको निर्वाचन सम्पन्न गरेर संविधान बनाउने, गणतन्त्रको घोषणा गर्ने र माओवादी लडाकुको व्यवस्थापन जस्ता मुख्य कार्यभारलाई टुंगोमा पुर्याइएको छ । तर उक्त समयमा राज्य तथा विद्रोही पक्षबाट भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाका पीडितले आजसम्म न्याय पाउन सकेका छैनन् ।
बितेका १५ वर्षमा पटक पटक सरकार परिवर्तन भए पनि ती सरकारको नेतृत्वकर्ताबाट आफूलाई न्याय दिन कुनै पहल नभएको गुनासो उनीहरुले धेरै पटक गरिसकेका छन् । तर त्यसको सुनुवाइ समेत हुन छाडेको छ ।
यसबीचमा बिना स्पष्ट कार्ययोजना पीडित तथा तिनका परिवारलाई परिचयपत्र वितरण गरेकोमा पनि पीडितहरुले दुःख व्यक्त गरेका छन् । परिचयपत्रमा वास्तविक पीडितको नाम उल्लेख छैन भने पीडितले भोगेको पीडा र क्षतिका आधारमा परिचयपत्रको वर्गीकरण समेत नगरिएको आरोप संयुक्त विज्ञप्तिमा लगाइएको छ ।
टिप्पणीहरू