नेपाली काँग्रेसको नेतृत्वमा पुरानै अनुहारको निरन्तरता
नेपाली काँग्रेसको १४ औं महाधिवेशन मंसिर २७ गतेलाई तोकिएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा काँग्रेसले हालसम्म तीन हजारभन्दा बढी प्रत्यक्ष निर्वाचित प्रतिनिधिहरुको टुंगो लगाइसकेको छ । वडा,पालिका, जिल्ला तथा प्रदेश गरी अहिलेसम्म कूल १ सय २६ निर्वाचन क्षेत्रमा अधिवेशन सकिएको बताइएको छ ।
महाधिवेशन तोकिएकै मितिमा काठमाडौंको भृकुटीमण्डपमा हुने सम्भावना बढ्दै गएको प्रदीप पौडेलले बताउनुभएको छ । उहाँले आज जनआस्थासँग कुराकानी गर्दै काँग्रेसको नेतृत्व तहदेखि व्यवस्थापकीय तहसम्म जताततै असमझदारी भएका कारण महाधिवेशनको कार्यतालिका यसअघि पटक पटक हेरफेर भएको जानकारी दिनुभयो ।
पौडेलले भोलिदेखि हुन लागेको नेकपा एमालेको महाधिवेशन काँग्रेसको भन्दा ढिलो शुरु भए पनि एमालेभित्र अध्यक्षले बोलेपछि निर्णय हुने भएकाले छिटो सम्पन्न भएको बताउनुभयो । उहाँकाअनुसार काँग्रेसभित्र आपसी मतभेद कायम छ । रुपन्देही र प्युठानमा मतगणना गर्ने क्रममा भएको झडपको उदाहरण दिँदै व्यवस्थापकीय पक्ष सुदृढ नहुँदा उक्त घटना हुन पुगेको उहाँको निश्कर्ष छ ।
पौडेलले हालसम्म भएका अधिवेशनहरुबाट क्षेत्रीय प्रतिनिधिहरुमा धेरैजसो युवा पुस्ता निर्वाचित भएको पनि बताउनुभएको छ । ‘तल्लो तहसम्म युवापुस्ता आएका छन् तर नेतृत्व तहमा पुरानै अनुहार दोहोरिने सम्भावना छ,’ उहाँले भन्नुभयो । नेतृत्व तहमा युवा पुस्ताले आँट नदेखाएका कारण पुरानै अनुहार दोहोरिन लागेको उहाँको ठहर छ ।
काँग्रेस युवा नेता पौडेलका अनुसार मूल नेतृत्वमा युवापुस्ता आउनुपर्ने आवश्यकता भए तापनि आफूले समेत उक्त स्थानमा पुग्ने आँट नदेखाएको स्वीकार्नुभएको छ । पौडेलले गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेताहरुविरुद्ध महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
सत्तारुढ दल नेपाली काँग्रेसले लोकतान्त्रिक अभ्यास गर्ने क्रममा समय समयमा पार्टीभित्रैबाट त्रुटीहरु बाहिरिने गरेको पनि उहाँले बताउनुभयो ।
टिप्पणीहरू