प्रचण्ड एमाले निम्तो छाडेर हेलिकोप्टरमा अन्तैतिर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिहानै हेलिकोप्टर चढेर काठमाडौंबाट उत्तरतर्फ लाग्नुभएको छ । काठमाडौंबाट दक्षिण पश्चिमको चितवनमा आज एमालेको दशौं महाधिवेशन उद्घाटन हुँदैछ ।
तर, महाधिवेशन आयोजना भइरहेको स्थानको ठीक विपरित दिशामा हेलिकोप्टर लिएर जानुभएकाले प्रचण्ड आज नारायणघाट नजाने निश्चित भएको छ ।
उहाँ अल्टिच्युड एअरको हेलिकोप्टर चढेर काठमाडौं उत्तरको शिवपुरी राष्ट्रिय निकुञ्जतर्फ लाग्नुभएको विमानस्थल स्रोतले पुष्टि गरेको छ । दाहालसँगै चार जनाको टोली पनि त्यतै गएको छ । तर,उहाँसँगै गएका टोली सदस्यहरुबारे केही पनि बताइएको छैन ।
एमालेले आजको महाधिवेशन उद्घाटन समारोहमा सत्ता गठबन्धनका नेकपा एकीकृत समाजवादीबाहेक अन्य सबै राजनीतिक दललाई निम्तो दिएको छ ।
काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा अहिले केही बेरमा त्यता जाँदै हुनुहुन्छ । अन्य दलका नेता पनि चितवन गइरहनुभएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
माओवादी केन्द्रको तर्फबाट कसले प्रतिनिधित्व गर्ने भन्नेबारे यतिबेरसम्म केही खुलाइएको छैन ।
टिप्पणीहरू