अरुको भन्दा अग्लो बनाउनै पर्ने हो र कम्युनिस्ट पार्टी अध्यक्षको आसन ?

अरुको भन्दा अग्लो बनाउनै पर्ने हो र कम्युनिस्ट पार्टी अध्यक्षको आसन ?

एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नेताहरुको कुर्सी व्यवस्थापनलाई लिएर पटक-पटक विवाद चर्किएको थियो । बैठकहरुमा अध्यक्ष केपी शर्मा ओलीलाई विशेष प्रकारको कुर्सी व्यवस्थापन गरिएकोमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरुका असन्तुष्टी सार्वजनिक हुन्थे ।

कुर्सी विवाद यतिसम्म चर्किएको थियो कि,एउटा स्थायी कमिटी बैठकमा त मञ्चमा रहेका सबै शीर्ष नेताहरूलाई अन्य सहभागीसँगै हलमा झारिएको थियो । अन्तरसंघर्ष उत्कर्षमा पुगेका बेला कुर्सी विवादले बलेको आगोमा घ्यू थप्ने काम गरेको थियो । अन्तत: नेकपा फुट्यो । पार्टी फुटका पछाडि राजनीतिक-बैचारिक कारण नै थिएनन् भनेर ठोकुवा गर्न त सकिंदैन तर कुर्सी व्यवस्थापनलगायतका प्राविधिक विषयले पनि विभाजनलाई सघाउ पुर्याएको हो ।

त्यसयता,एमालेमा पनि अध्यक्ष केपी ओलीलाई अरुलाई भन्दा विशेष प्रकारको कुर्सीको व्यवस्थापन गर्ने गरिएको छ । पार्टीका बैठकदेखि सार्वजनिक कार्यक्रमहरुमा अरुको भन्दा ठूलो र विशेष सजावट गरिएको कुर्सी ओलीका लागि मिलाउने गरिएको छ ।

झट्ट सुन्दा सामान्य लाग्ने कुर्सी व्यवस्थापनको विषय सारत: बिचारसँगै जोडिएको हुन्छ । यसैपनि कम्युनिष्ट पार्टीमा समानताको कुरा चर्को रुपमा उठाउने गरिन्छ । अझ सामूहिक नेतृत्वमा विश्वास गर्ने कम्युनिष्ट पार्टीमा अध्यक्ष वा महासचिवलाई मात्रै विशेष अधिकार दिइएको हुँदैन । तर एमालेमा भने अध्यक्ष ओलीलाई विशेष नेताका रुपमा प्रस्तुत गर्ने गरिएको छ ।

यतिसम्म देवत्वकरण गरिएको छ,असारमा सम्पन्न विधान महाधिवेशनका बेला सडकभरि ओलीका पोष्टर टांगिएको थियो, उनको फोटो स्ट्यान्डको रुपमा राखिएको थियो । कतिसम्म भने, कार्यक्रमस्थलमा वितरण गरिएको पानीको बोतलमा समेत ओलीको फोटो राख्दा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी तथा मदन भण्डारीको फोटो त कता हो कता !

अहिले पनि महाधिवेशनको उद्घाटन र बन्द सत्र स्थलमा उनका ठूला ठूला मस्कट बनाइएको छ । ओलीलाई कमरेड भन्दा पनि ‘बा’ को हैसियत दिएकै कारण विशेष कुर्सीदेखि विशेष सम्मान दिने गरिएको हो । नेपाली समाजमा जसरी बालाई विशेष मानिन्छ त्यसै गरी ओलीलाई पनि विशेष रुपमा एमाले नेता-कार्यकर्ताले लिने गरेका छन्।

त्यहि सिलसिला दशौँ महाधिवेशनमा पनि देखिएको छ । हिजो महाधिवेशनको उद्घाटन समारोहमा ओलीले भाषण गर्दा अल्र्ट्रालाइट प्लेनबाट पुष्पवृष्टि गरिएको थियो भने ओलीको प्रशंसा गरिएको वृत्तचित्र देखाइएको थियो । आज पनि बन्दसत्रका लागि बनाइएको मञ्चमा ओलीलाई विशेष कुर्सीको व्यवस्था गरिएको छ । मञ्चको वीचमा एउटा विशेष कुर्सी ओलीका लागि राखिएको छ ।

खासमा महाधिवेशनको बन्दसत्रमा प्रवेश गरिसकेपछि अध्यक्षदेखि प्रतिनिधिसम्म सबै समान हैसियतमा हुन्छन् । विधि र अभ्यासका हिसाबले मौजुदा कमिटी नरहेको र नयाँ कमिटी बनिनसकेको त्यो समयमा अध्यक्ष मण्डल समन्वयकारी भूमिकामा हुन्छ । बाँकी सबै एकै हैसियतमा रहन्छन् ।

आफूलाई अरुभन्दा एक तह माथि ठान्ने सोचलाई वास्तवमा सामन्तवादी चिन्तनको उपज मानिन्छ । कम्युनिष्ट पार्टीमा यस्ता चिन्तन हावी हुँदै जाँदा कुर्सीजस्ता प्राविधिक कुरा नेताहरुका लागि महत्वपूर्ण भैदिन्छ । जबकि झन्डै ९ करोड पार्टी सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीमा शक्तिशाली महासचिवदेखि प्रतिनिधिसम्मका लागि समान कुर्सीको व्यवस्था गरिएको हुन्छ । त्यहाँ पार्टीको बैठक र महाधिवेशनमा सात सदस्यीय स्थायी कमिटीका नेतादेखि सबै समान हैसियतमा प्रस्तुत हुन्छन् । चिकपाका महासचिव चीनको राष्ट्रपति पनि हुन्छ ।

तर,चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको झल्को दिनेगरी महाधिवेशनको बाहिरी साजसज्जा गरेको नेपालकै ठूलो कम्युनिष्ट पार्टी एमालेका नेताहरु कार्यशैली र आचरण भने ठ्याक्कै उल्टो देखिएको आरोप छ ।

टिप्पणीहरू