निर्मल निवासबारे बहस थालिने कमल थापाको उद्घोष
राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले राजसंस्था र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा अब राप्रपाभित्र बहस सुरू हुने बताएका छन् ।
अध्यक्षमा पराजित भएको तेस्रो दिन आज एक विज्ञप्ति निकालेर थापाले ‘नेतृत्व चयनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको हस्तक्षेप रहेको भन्दै यो विषयमा अब राप्रपाभित्र बहस सुरू हुने बताएका हुन् ।
उनले राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजनालाई कहिल्यै सफल हुन नदिने भनेर स्पष्ट पारेका छन् । थापाको विज्ञप्तिमा भनिएको छ, ‘देशमा राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्न सक्ने शक्ति वा राजनीतिक दलको रूपमा होइन, राप्रपालाई भजन मण्डली बनाउने गलत नियत राखेर मलाई राजनीतिक रूपमा समाप्त पार्न खोजिएको तथ्य स्पष्ट छ । राप्रपालाई भजन मण्डली बनाउने निर्मल निवासको योजना हामी कहिल्यै सफल हुन दिने छैनौं ।’
यस्तै राप्रपा नेतृत्वको चरित्रहत्या गर्ने र भ्रम सृजना गराउने कार्य समेत भएको भन्दै थापाले राजसंस्थाको मान्यतामा अहिले पनि आफू रहिरहेको उल्लेख गरेका छन् ।
निवर्तमान अध्यक्ष थापाले आफ्नो पछिल्लो अभिव्यक्तिलाई चुनावमा हारपछिको आक्रोशको रूपमा नबुझि दिन सबैमा आग्रह गर्दै एउटा खेलाडी भएको नाताले हार वा जीतले आफ्ना लागि कुनै अर्थ नराख्ने स्पष्ट पार्ने कोशिस गरेका छन् ।
टिप्पणीहरू