रातारात भगवतीको मूर्तिचोरी

रातारात भगवतीको मूर्तिचोरी

विभिन्न मन्दिरबाट मूर्ति चोरीको घटना बढ्न थालेको छ । हिजो राति काठमाडौंको इचङ्गुनारायणबाट भैरवको मुकुट चोरी भएको थियो । आज सिन्धुपाल्चोकमा भगवतीको मूर्ति चोरिएको छ ।

सिन्धुपाल्चोक जिल्लाकै पुरानो र ऐतिहासिक त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारस्थित त्रिपुरासुन्दरी देवीको मन्दिरबाट मूर्ति चोरी भएको हो ।

सयौँ वर्ष पुरानो सुनको जलप प्रयोग गरिएको भगवतीको मूर्ति र कलशका साथै पुरानो विष्णुको दुईवटा कलात्मक मूर्ति समेत चोरी भएको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पुरातत्व विभागको सहयोगमा अहिले मन्दिरमा गजुर राख्ने काम भइरहेको बेलामा मूर्ति चोरी भएको छ ।

हिजो राति मोटरसाइकलमा आएका अपरिचित युवकहरूलाई स्थानीयहरूले शंका गरेका छन् । मन्दिरको ढोका खुला भएको र भित्र हेर्दा मूर्ति र कलश नदेखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

टिप्पणीहरू