ट्राफिक कारवाहीमा परेका कागजात लिन अब लाइन लाग्नु नपर्ने
ट्राफिक नियम उल्लंघनको कारबाहीमा परेका सवारी साधनका कागजात फिर्ता लिन ट्राफिक कार्यालयमा लाइन लाग्नुपर्ने झन्झट अन्त्य हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इनस्ट्यान्ट पेमेण्ट सिस्टम’ को शुरुवात गरेसँगै सेवाग्राहीले व्यहोर्दै आएको झन्झट अन्त्य हुने भएको हो ।
महाशाखाले बिहीबारबाट लागू हुने गरी कारबाहीमा परेका सवारीसाधन धनीलाई कारबाहीस्थलबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिनसक्ने व्यवस्थाको शुरुवात गरेको हो । तत्काल ट्राफिक जरिबाना भुक्तान गर्ने प्रणाली शुभारम्भ कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक जनक भट्टराईले ट्राफिक सेवा आधुनिक र प्रविधियुक्त हुँदै गएको बताएका छन् ।
प्रमुख भट्टराईले अहिलेसम्म कारबाहीका लागि बनाइएको एप ५ वटा मोबाइलमा मात्रै प्रयोग गरिएको र बिस्तारै यसको संख्या बढाउँदै जाने बताउनु भयो । उनका अनुसार कारबाहीमा परेकाहरुको अब डिजिटल इन्ट्री गरिने र तत्काल रकम भुक्तानी गरी कागजात फिर्ता लिन मिल्नेछ ।
‘अहिलेको सिस्टम हामी चिट काट्थ्यौँ, त्यसपछि बेलुका त्यो कागजपत्र अफिसमा आउँछ, त्यो बीचमा उहाँले अनलाइनबाट पनि तिर्न सक्नुहुन्छ, बैंकमा गएर पनि तिर्न सक्नुहुन्छ । बेलुका हाम्रोमा ल्याएर इन्ट्री गरेपछि कागजपत्र फिर्ता पाउनुहुन्थ्यो’, उनले भने, ‘यसलाई सहज र सरलीकृत गर्न, कोरोनाको यस्तो बेलामा सहज बनाउनु पर्छ भनेर फील्डबाट नै मुक्ति दिन यो व्यवस्थाको शुरुवात गरेका हौँ । अहिले हामीसँग एप डाउनलोड गरेका ५ वटा मोबाइल मात्रै छन् । त्यसबाट हामी स्टार्ट गर्दछौँ ।’
उनका अनुसार कारवाहीमा परेका सवारी साधनको डिटेल ५ वटा मोबाइलबाट कारवाहीस्थलमै डिजिटल इन्ट्री हुन्छ । यसअघिको जस्तो ट्राफिक कार्यालयमा इन्ट्री गरेपछि मात्रै कागजपत्र पाउने व्यवस्था अब हुँदैन । कागजात तत्काल लिन चाहानेले रकम भुक्तानी गरेर त्यहिँ लिन सक्छ ।त्यस्तै, अनलाइन वा क्यूआरकोर्डबाट पनि रकम तिर्न सकिने भट्टराईले बताए ।
महाशाखाले पहिलो चरणमा गौशाला, दरवारमार्ग, थापाथली, जावलाखेल र जनसेवा गरी ५ ठाउँमा यो सेवा सुचारु गरेको हो । त्यस्तै मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका सवारीसाधन चालकहरुका लागि भने रकम भुक्तानी तत्काल गर्न पाएपनि महाशाखामा गएर सचेतना कक्षा नलिएसम्म कागजात पाउने छैनन् ।
टिप्पणीहरू