एमाले नेताहरुको मर्यादाक्रम तोकिँदै
अघिल्लो साता चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट निर्वाचित एमाले केन्द्रीय समितिको दोस्रो बैठक भोलि र पर्सि भक्तपुरमा बस्ने भएको छ । ३ सय १ सदस्यीय केन्द्रीय समितिको पहिलो बैठक महाधिवेशन समापनको क्रममा शपथ ग्रहणलगत्तै बन्दसत्र हलमा भएको थियो जसमा उपाध्यक्षका बागी उम्मेदवार घनश्याम भुसाल सहभागी भएनन् भने अध्यक्षमा उठेका भीम रावलले केन्द्रीय सदस्यको शपथ नै खाएनन् । त्यतिबेलासम्म केन्द्रीय सदस्यमा विजयी भनिएका उनलाई लगत्तै उक्त पदमा समेत पराजित घोषणा गरिएको थियो ।
पहिलो बैठकमा महासचिव शंकर पोखरेलले बैठक बसेको जनाउ दिएको र अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा राखेको तर उक्त बैठकको माइन्युट नै नभएको बताइन्छ । बैठक भनिएको बन्दसत्र हलमा झण्डै ५० जना स्वयमसेवक र दुई दर्जनबढी पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका सुरक्षाकर्मी थिए ।
भोलि हुने भनिएको केन्द्रीय समिति बैठक जर्मन हाउस हस्पिटालिटी,गठ्ठाघर,भक्तपुरमा बिहान ११ बजे डाकिएको छ । बैठकको कार्यसूचीमा १५ वटा एजेण्डा राखिएको छ । जसमा बाँकी केन्द्रीय सदस्यहरुको शपथग्रहण, महाधिवेशनको समीक्षा र बाँकी सदस्यहरुको मनोनयन भनिएको छ ।
त्यसैगरी पोलिटब्युरो गठन,स्थायी कमिटीको गठन,केन्द्रीय सल्लाहकार परिषद् गठन,कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन एवम् प्रदेश र जिल्ला अधिवेशनको मिति निर्धारण गर्ने भनिएको छ । त्यस्तै विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि,केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान,वरियताक्रम निर्धारण र जनसंगठनको सुदृढिकरण अभियानबारे निर्णय गरिने कार्यसूचीसमेत जानकारी गराइएको छ ।

टिप्पणीहरू