काँग्रेसको आचारसंहिता जारी, उम्मेदवारले गर्न थाले मनपरी
नेपाली काँग्रेसले १४ औं महाधिवेशनको निम्ति आचारसंहिता जारी गरेको छ । आजको मिति राखेर अस्ति जारी आचारसंहितामा उल्लेखित अधिकांश नियम प्रतिनिधिहरुले उल्लंघन गरिसकेका छन् ।
केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जारी गरेको आचारसंहिताको पहिलो बुँदामा लेखिएको आग्रहलाई धेरैले उल्लंघन गरेका हुन् । बुँदा नम्बर १ मा ‘आफ्नो उम्मेदवारीको प्रचारप्रसार गर्नुपर्दा भिजिटिङ कार्ड र सामान्य अपिल वितरण गर्न सकिने छ,’ भनिए पनि महाधिवेशनस्थल भृकुटीमण्डप बाहिरको क्षेत्र उम्मेदवारको तुल,ब्यानर र फ्लेक्स ब्यानरले भरिएको छ ।
महाधिवेशनस्थलभन्दा पाँच सय मीटर बाहिरमात्र त्यस्ता सामाग्री टाँस्न र झुण्ड्याउन पाइने भनिए पनि भृकुटीमण्डप छिर्ने मूल गेटको वरिपरि रंगिबिरंगी ब्यानर,फ्लेक्स देख्न सकिन्छ ।
मतदानस्थल भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा प्रवेश गर्दा मोबाइल फोन बोक्न पाईंदैन भनिएको छ । त्यो आचारसंहितको कार्यान्वयन कत्तिको प्रभावकारी हुने भन्ने विषय सोमबार देखिने छ ।
यसैबीच काँग्रेसको निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । बिहान १० बजे मतदाता नामावली प्रकाशित हुने छ । भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ता हुने छ । सबै प्रक्रिया सकेर आइतबार मध्यान्ह सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने कार्यक्रम राखिएको छ ।
आगामी सोमबार बिहान ८ बजेबाट मतदान हुने छ । सभापति पदको मतगणना मतदानलगत्तै शुरु हुने र दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा तत्काल राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा हुने बताइएको छ ।
सभापति पदबाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना काँग्रेस मुख्यालय,सानेपामा गरिनेछ । त्यतिञ्जेलसम्मको लागि मतपेटिकालाई शीलबन्दी गरी पार्टी मुख्यालयमा सुरक्षित तवरले राखिने तालिकामा उल्लेख छ ।
टिप्पणीहरू