काँग्रेस महाधिवेशनका निम्ति यस्तो छ सुरक्षा निर्देशन

काँग्रेस महाधिवेशनका निम्ति यस्तो छ सुरक्षा निर्देशन

आजदेखि राजधानीको भृकुटीमण्डपमा शुरु हुने नेपाली काँग्रेसको १४ औं महाधिवेशनका निम्ति नेपाल प्रहरीले सुरक्षा सतर्कतामा कुनै कसर बाँकी नराख्ने भएको छ । निर्णयानुसार १५ थरि इकाइको सुरक्षा व्यवस्था मिलाइएको छ ।

सुरक्षा प्रबन्धको सर्कुलर प्रहरीले महानिरीक्षकको सचिवालयसहित २० वटा विभाग,निर्देशनालय, इकाइ, शाखा,परिसरलाई बोधार्थ र वितरण गरेको छ । जसअनुसार आज र भोलि बिहान १० बजेदेखि महाधिवेशनभर प्रहरी नायव निरीक्षकको कमाण्डमा ५० जनाको टोली आवश्यक परेको अवस्थामा खटिने गरी हतियारसहित प्रहरी प्रधान कार्यालयमा स्टाण्डबाई रहने छ ।

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागबाट बिहान साढे ९ बजेदेखि कार्यक्रम अवधिभर महानगरीय प्रहरी परिसर, काठमाडौंसँग समन्वयमा रहने गरी खट्न निर्देशन दिइएको छ ।

त्यसैगरी हेडक्वार्टरको मानवस्रोत एवम् प्रशासन विभागलाई पनि १० बजेदेखि कार्यक्रम अवधिभर प्रहरी नायव निरीक्षकको कमाण्डमा ५० जनाको जनशक्ति आवश्यक हतियारसहित हेडक्वार्टरमा स्टाण्डबाई रहन भनिएको छ । अर्को ५० जनाको टोलीलाई नायव निरीक्षककै कमाण्डमा महानगरीय प्रहरी परिसर,काठमाडौंसँग समन्वयमा रहने गरी खटाउन निर्देशन दिइएको छ ।

सुरक्षा सेवा निर्देशनालयलाई पनि बिहान साढे ९ बजेदेखि एक सय जना र आइतबार ५० जनाको टोली महानगरीय परिसरको समन्वयमा खटाउन आदेश दिइएको छ ।

प्रहरी मुख्यालयको सञ्चार निर्देशनालयलाई सोमबारसम्म महानगरीय प्रहरी परिसरसँग समन्वय गरेर तीन सिफ्टमा आवश्यक पर्ने प्राविधिकसहित वाक थ्रु गेट २ मा खटाउन भनिएको छ ।

त्यसैगरी सवारी महाशाखालाई दिइएको निर्देशनमा आइतबारसम्म दमकल,वाटर क्यानल र दङ्गा नियन्त्रण भेहिकल तयारी अवस्थामा राख्न,आवश्यक जनशक्तिको व्यवस्था गर्न भनिएको छ ।

विपद् व्यवस्थापन महाशाखा, सामाखुशीको लागि आइतबारसम्म एक सय १० जना प्रहरी जनशक्ति खटाउन र प्रहरी परिसरसँग समन्वय गर्न भनिएको छ । आइतबारका दिन थप ५० जनालाई स्टाण्डबाई रहन निर्देशन दिइएको छ ।

उता प्रधान कार्यालयको परिचालन कक्षलाई महाधिवेशनको अवस्था हेर्दै थप प्रहरी जनशक्ति तथा स्रोत साधनहरु परिचालन भए नभएको जानकारी लिई समयमा नै खटिने व्यवस्था मिलाउन भनिएको छ । मानव स्रोत एवम् प्रशासन विभाग र लेखा शाखालाई सवारी महाशाखाबाट परिचालन हुने सवारी साधनहरुको लागि आवश्यक इन्धनको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

त्यसैगरी भण्डार शाखालाई थप मद्दतमा खटिने प्रहरी जनशक्तिलाई आवश्यक पर्ने हतियार तथा असबाबका सामाग्रीहरु नरोक्न पनि कडा निर्देशन दिइएको छ । नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर १ लाई आइतबारसम्म बिहान साढे ९ बजेदेखि प्रहरी नायव निरीक्षकको कमाण्डमा ५० जनाको थप प्रहरी जनशक्ति महानगरीय प्रहरी परिसरमा समन्वय गरेर खटाउन भनिएको छ ।

केन्द्रीय प्रहरी विशेष कार्यदल नक्साललाई पनि आइतबार बिहान साढे ९ बजेदेखि प्रहरी नायव निरीक्षकको कमाण्डमा २० जना थप प्रहरी जनशक्ति महानगरीय प्रहरी परिसरमा समन्वय गरेर पठाउन भनिएको छ । उक्त कार्यदलबाट तीन दिन बिहान साढे ९ बजेदेखि साँझ साढे ६ बजेसम्म प्रहरी निरीक्षकको कमाण्डमा एक प्लाटुन बन्धक उध्दार टिम पनि प्रहरी परिसरको समन्वयमा भृकुटीमण्डपमा खटिने भएको छ ।

त्यसैगरी प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट पनि नायव निरीक्षकको कमाण्डमा एक सय ६० जनाको जनशक्ति तीन दिन खट्ने व्यवस्था मिलाइएको छ ।

उता प्रहरी अस्पताललाई आइतबारसम्म बिहान ११ बजेदेखि साँझ साढे ६ बजेसम्म चिकित्सकसहितको एम्बुलेन्स तत्काल परिचालन हुन सक्ने गरी स्टाण्डबाई रहनुपर्ने भनिएको छ । सुरक्षा निर्देशनअन्तर्गत प्रहरी संगीत विद्यालय,महाराजगञ्जलाई पनि तीनै दिन बिहान साढे ९ बजेदेखि प्रहरी नायव निरीक्षकको कमाण्डमा एक सय १० जना प्रहरी जनशक्तिलाई महानगरीय प्रहरी परिसरसँग समन्वय गरेर खटाउन भनिएको छ ।

प्रहरीको सुरक्षा निर्देशनभित्र केनाइन प्रहरी महाशाखा,महाराजगञ्जलाई भोलिदेखि आगामी सोमबारसम्म बिहान ७ बजेभित्र हेण्डलरसहितको डग स्निफिङ टोली खटाउन भनिएको छ । उक्त टोलीलाई महानगरीय प्रहरी वृत्त,सिंहदरबारका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठसँग समन्वय गर्न भनिएको छ ।

नेपाली काँग्रेसको महाधिवेशनमा महानगरीय प्रहरी परिसरको जनशक्तिबाहेक काठमाडौं जिल्लामा मात्रै थप ८ सय ५० जना प्रहरी जनशक्ति खटाउने व्यवस्था गरिएको बताइएको छ ।

टिप्पणीहरू