चार तारा नहुनुपर्ने हो चिराचिरा

चार तारा नहुनुपर्ने हो चिराचिरा

-पूजा लम्साल

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आजदेखि शुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा हुने महाधिवेशनको अहिले दिउँसो प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्दै हुनुहुन्छ । महाधिवेशनको सबै व्यवस्थापकीय तयारी पूरा भैसकेको बताइएको छ । अहिले प्रतिनिधि, पर्यवेक्षक महाधिवेशनस्थल भृकुटीमण्डप पुग्ने क्रम जारी छ ।

महाधिवेशनमा चार हजार ७ सय प्रतिनिधिले भाग लिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ । १३ पदाधिकारीसहित १३४ जना केन्द्रीय सदस्य निर्वाचित हुने महाधिवेशन काँग्रेसका दुई परम्परागत गुटबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

१४ औँ महाधिवेशनबाट नेतृत्वमा पुग्न दुवै खेमामा आकांक्षीको भीड छ । मुख्य नेतृत्वका लागि संस्थापन (देउवा) समूहबाट वर्तमान सभापति देउवा दोहोरिने तयारीमा छन् भने इतर (पौडेल-कोइराला-सिंह) खेमाबाट तीन जना दावेदार देखिएका छन् । त्यस्तै,संस्थापन पक्षकै बिमलेन्द्र निधिसमेत सभापति पदको दौडमा छन् । इतर पक्ष सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयासमा छ । तर,वरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री डा. शेखर कोइराला र नेता प्रकाशमान सिहंले आ-आफ्नै अडान नछोडेका कारण साझा उम्मेदवार चयन गर्न सकेको छैन।

यता, प्रदेश १ बाट सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यमा दर्जनौँले दावेदारी प्रस्तुत गरेका छन् । प्रदेश १ को राजधानी मोरङबाट सभापति पदमा डा. शेखर कोइराला, शशाँक कोइराला र सुजाता कोइरालाको दाबी थियो । संस्थापनईतर समूहका डा. शेखरले अझै सभापतिमा आफनो दाबी कायमै रहेको बताएका छन् । उनले आफ्नो पक्षमा धमाधम कार्यकर्ता परिचालन गरेर मत माग्न थालिसकेका छन् । शशाँक र सुजाताले भने सहमतिका लागि भन्दै आफनो दाबी छोडेका छन् ।
सँस्थापन समूहसँग सहकार्य गरिरहेका झापाका कृष्ण सिटौला पनि सभापतिका आकांक्षी हुन् । तर, संस्थापन र इतर पक्षबीच प्रतिस्पर्धा हुँदा उनी संस्थापन पक्षबाट उपसभापतिमा उठ्ने सम्भावना पनि रहेको बताइन्छ । संस्थापन र सिटौला समूहबीच सहकार्य भए महामन्त्रीमा युवा नेता प्रदिप पौडेललाई अघि सार्ने सिटौलाको तयारी रहेको बताइन्छ ।

विराटनगर निवासी महेश आचार्यले उपसभापतिमा दाबी गरेका छन् । मोरङ क्षेत्र नं २ का सांसद तथा रक्षामन्त्री डा. मीनेन्द्र रिजालको महामन्त्रीमा दाबी छ । आचार्य र रिजाल इतर समूहका प्रभावशाली नेता हुन् । विराटनगरकै डिला संग्रौलाले सहमहामन्त्रीमा दाबी गरेकी छन् । संग्रौला संस्थापन समूहकी नेतृ हुन् । संस्थापन पक्षबाटै झापाका विश्वप्रकाश शर्मा महामन्त्रीको दौडमा छन् । पार्टी प्रवक्तासमेत रहेका उनलाई संस्थापनबाट सशक्त उम्मेदवारका रुपमा हेरिएको छ ।

विराटनगरका अर्का नेता अमृत अर्यालको केन्द्रीय सदस्यमा दावेदारी छ। पहिले पनि केन्द्रीय सदस्य रहेका उनी संस्थापन पक्षका हुन् । त्यस्तै, प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पनि केन्द्रीय सदस्य दाबी गरेका छन् । मोरङ क्षेत्र नं. ६ (ख) बाट प्रदेश सांसद निर्वाचित उनी प्रदेश १ काँग्रेस संसदीय दलका प्रमुख सचेतक पनि हुन् ।

यता, विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली र उपप्रमुख ईन्दिरा कार्कीले पनि केन्द्रीय सदस्यमा दाबी गरेका छन् । मेयर पराजुली सिटौला समूहका हुन् भने उपमेयर कार्की संस्थापनपक्षकी हुन् । विराटनगरका उद्योगी हसन अन्सारीले केन्द्रीय सदस्यमा आफनो उम्मेदवारी घोषणा गरिसकेका छन् ।

पौडेल-कोइराला-सिंह समूहबाट सरिता प्रसाई पनि केन्द्रीय सदस्यको दाबेदार हुन् । विश्वप्रकाश शर्मातर्फबाट पंकज बिक्रम नेम्बाङ, सिटौला समूहबाट उमा शिवाकोटी, सुधिर शिवाकोटी र अशोक पोखरेलले पनि केन्द्रीय सदस्यमा चाहाना राखेका छन् ।

सुनसरीबाट संस्थापन पक्षका बिजय गच्छेदारले उपसभापतिमा आफनो उम्मेद्वारी घोषणा गरिसकेका छन् । सुनसरीबाटै देउवा गुटका ज्ञानेन्द्र कार्कीले महामन्त्री र मीन विश्वकर्माले सहमहामन्त्रीमा दाबी गरेका छन् । त्यस्तै, देउवा गुटका सिताराम मेहता र पौडेल गुटका राजिव कोइरालाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । राजीव प्रदेश कांग्रेस १ नम्बर प्रदेश संसदीय दलका नेता पनि हुन् ।

इलाममा हिमाल कर्मचार्य र नरेन्द्रकुमार कुमाल केन्द्रीय सदस्यका आकांक्षी छन् । संखुवासभाबाट सिटौला समूहका तारामान गुरुङ, देउवा समूहका छलकुमार लिंखा र पौडेल-कोइराला-सिंह खेमाका पासाङ शेर्पाले पनि केन्द्रीय सदस्यमा आकांक्षा राखेका छन् ।

ताप्लेजुङकी देउवा गुटकी लीलादेवी बोखिमले केन्द्रीय सदस्य उठ्ने तयारी गरकी छिन् । पाँचथरबाट संस्थापन पक्षका भीष्म आङदम्बे र इतर खेमाका नरेन्द्रकुमार केरुङ केन्द्रीय सदस्यका आकांक्षी हुन् । धनकुटाबाट सँस्थापन पक्षका सुनिल थापाले सहमन्त्रीमा दाबी गरेका छन् । संस्थापनकै मनोहरनारायण श्रेष्ठ र आनन्द सन्तोषी राई केन्द्रीय सदस्य उठ्ने तयारीमा छन् ।

उदयपुरबाट वर्तमान सरकारका परराष्ट्रमन्त्री नारायण खडका पदाधिकारी तथा नारायण कार्की र लक्ष्मी परियार केन्द्रीय सदस्यका आकांक्षी छन् । संस्थापन पक्षकी परियारले दलित कोटाबाट प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छिन् ।

तेह्रथुमबाट तुलसी सुब्बाले केन्द्रीय सदस्यमा आफनो उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै, सीता गुरुङ सहमहामन्त्रीको दौडमा छिन् । सरस्वती बजियम, नरेश पोखरेल, हिराकुमार श्रेष्ठ र रविप्रकाश राईले विभिन्न कोटाबाट केन्द्रिय सदस्यमा दाबी छ । उनीहरु खोटाङका हुन् । सोलुखुम्बुमा इतरतर्फका बलबहादुर केसी र देउवा पक्षका आङगेलु शेर्पा केन्द्रीय सदस्यका दावेदार छन् ।

टिप्पणीहरू