बाख्राको पाठीमा समेत प्रचण्डसङ्ग मिलेर घोटाला
पशु अस्पताल तथा पशु सेवा कार्यालय,दैलेखमा लाखौंको अनियमितता भएको छ । कार्यालयले बुधबार जारी गरेको अनुमतिपत्रमा तेस्रो तहका कर्मचारीले हस्ताक्षर गरेको मात्र नभई स्वास्थ्य परीक्षण नगरी जिल्ला बाहिर पशु निर्यात गर्न अनुमति दिइएको पाइएपछि उक्त रहस्य खुलेको हो ।
अनुमतिपत्रमा दैलेखको महाबु ३ स्थित जुनादेवी कृषि तथा पशुपंछी फर्मका सञ्चालक पुस्कर बुढालाई भे.१ च ३८७३ नम्बरको जीपमा ४२ वटा बाख्राका पाठी सुर्खेतस्थित छिन्चु बजारसम्म पुर्याउन अनुमति दिएको व्यहोरा उल्लेख छ । जबकि एउटा बोलेरो जीपमा बढीमा १० देखि १२ वटासम्म बाख्रा अटाउँछन् ।
सोही विषय बाहिर आएपछि अहिले पशु अस्पताल तथा पशु सेवा कार्यालय, दैलेखका प्रमुख प्रचण्ड खड्का विवादमा तानिएका छन् । खड्कामाथि पदीय मर्यादा विपरीत काम गरेको आरोप लागेको छ । जिल्लामा पशुचिकित्सक नरहेको अवस्थामा मिलोमतोमा बाख्राको स्वास्थ्य परीक्षण नगरिएको र जिल्ला बाहिर लैजान दिइएको आरोप लागेको हो ।
तर, कार्यालयका अर्का एक जना कर्मचारीले भने उक्त दिन आफू फिल्डमा खटिएकाले केही थाहा नभएको जनआस्थालाई जानकारी दिए । उनले भने ‘मैले पनि हल्ला मात्र सुनेको हो । खड्काले फोन गरेको भरमा कार्यालयका निमित्त कार्यालय प्रमुख कुमार रखालले’ अनुमति दिएका हुन् ।
यस्तै, घटनाबारे थप बुझ्दा खड्काले आफू कार्यालयमा नयाँ भएकाले विफल बनाउन खोजिएको जवाफ दिएका छन् । जिल्लामा पशु सेवा अधिकृतको स्थान रिक्त रहेकाले सुर्खेत लैजान लागिएका बाख्राहरु दैलेख बजारमा व्यवस्थापन हुन नसकेपछि अनुमति पत्र दिइएको उनको दाबी छ ।
एउटा बोलेरोमा ४२ वटा बाख्रा कसरी अटे ? भन्ने जनआस्थाको जिज्ञासाको जवाफ दिँदै भने, ‘म बाहिर थिएँ,अरु कुरो थाहा भएन । मैले अनुमति दिन लगाएको हुँ, ल्याउने किसानले पनि कसरी ल्याउनुभयो,’ उनले थप्दै भने, ‘मैले कुनै आर्थिक चलखेल गरेको छैन । कार्यालयका चौथो तहका साथीहरुले मलाई काम गर्न नदिन यस्तो गरेका हुन् ।’
टिप्पणीहरू