अन्ततः काङ्ग्रेसमा देउवाविरोधी घेरावन्दी साँघुरिँदै
संस्थापनइतर पक्षबाट सभापतिको साझा उम्मेदवार बन्न नसके महाधिवेशन उद्घाटन समारोहमा नजाने अड्डी कसेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भृकुटीमण्डप जाने निर्णयमा पुगेका छन् । दोस्रो तहका नेताहरुले बोहोराटार पुगेर बिहानभर सम्झाएपछि उद्घाटन समारोहमा सहभागी हुन पौडेल सहमत भएको बताइएको छ ।
कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरु हुँदैछ । अहिले केहीबेरमा सभापति शेरबहादुर देउवाले महाधिवेशनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनमा भोलिदेखि उम्मेदवारी दर्ता प्रक्रिया शुरु हुनेछ ।
तर,इतर खेमाबाट अहिलेसम्म सभापतिको उम्मेदवार को हुने भन्ने टुंगो लागेको छैन । यो समूहबाट वरिष्ठ नेता पौडेल,डा. शेखर कोइराला र प्रकाशमान सिंहको सभापतिमा दावी छ । साझा उम्मेदवार तय गर्न केहीदिनयता लगातार छलफल भएपनि नेताहरु सहमतिमा पुग्न सकेका छैनन् ।
खासगरी नेता सिंह र कोइरालाले दावेदारी नछोडेका कारण साझा उम्मेदवार तय गर्न सकस परेको नेताहरुले बताएका छन् । साझा उम्मेदवार बनाउने आफ्नो निरन्तरको प्रयास असफल हुने स्थिति बनेपछि पौडेल निराश बनेको र महाधिवेशनमा नजाने निर्णयमा पुगेको बताइएको छ ।
पौडेल महाधिवेशनमा नजाने अडानमा पुगेपछि इतर खेमाका दोस्रो तहका नेताहरु उनलाई मनाउन बिहान बोहोराटार पुगेका थिए । एक नेताका अनुसार बोहोराटारको छलफलमा दोस्रो तहका नेताहरुले प्रकाशमान र शेखरले अडान नछोडे पौडेललाई उम्मेदवार बनाएर जाने निर्णय गरेका छन् । त्यसपछि पौडेल महाधिवेशनमा सहभागी हुन राजी भएका हुन् ।
यता,संस्थापन पक्षका विमलेन्द्र निधिले समेत पौडेललाई सर्वसम्मत सभापति बनाइए आफूले दाबी छाड्ने बताएका छन् ।
टिप्पणीहरू