अब अभिनेत्री कटरिना श्रीमती कटरिनामा परिणत

अब अभिनेत्री कटरिना श्रीमती कटरिनामा परिणत

बलिउडकी चर्चित अभिनेत्री कटरिना कैफले अन्ततः लगनगाँठो कसेकी छन् । उनले कलाकार विकी कौशलसँग जीवन बिताउने निधो गरेकी हुन् । गत बिहीबार राति दुबै पक्षका सीमित सदस्यहरुको उपस्थितिमा विवाह भएको हो ।

राजस्थानको सवाई माधोपुरको एउटा रिसोर्टमा बैबाहिक कार्यक्रम भएको हो । सन् २०१९ मा भारतीय टप कलाकारको सूचीमा १०० नम्बरभित्र रहेका विकीसँग कैफको दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइन्छ । यसअघि कटरिनाको सलमान खानलगायत धेरै जना अभिनेतासँग नाम जोडिएको थियो ।

उनीहरुले बिबाहसँगै आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा लेखेका छन्,‘हामीले अबको नयाँ मार्गको निम्ति पनि तपाईंहरुको माया र शुभकामना चाहेका छौं ।’

दुई जना कलाकार जोडीले बिबाहमा पहिरिएका गहना र पोशाकको पनि चर्चा भएको छ । कटरिनाले पहिरेको रातो लेहंगा हातले बुनेको सिल्कको हो । त्यसैगरी दुलाहाले पहिरिएको पञ्जावी पहिरन पनि हातले बुनेको विशेष कपडा भएको बताइन्छ । ती पोशाकमा हातले पिटेर बनाइएको चाँदीमा सुनको जलप लगाइएका सितारा जडित छन् । ती सुन सबै २२ क्यारेटको भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुलाहा विकीले पहिरिएको सिल्क सेरबानीमा लगाइएको टाँकमा सुनको जलपयुक्त बंगाली बाघको आकृति छ ।

टिप्पणीहरू