काङ्ग्रेस प्रतिनिधिलाई रामदेव बाबाको पानी

काङ्ग्रेस प्रतिनिधिलाई रामदेव बाबाको पानी

नेपालीमा हुति नभएको,आँट नभएको वा क्षमता नभएकालाई सम्बोधन गर्नुपर्यो भने पानी मरुवा भनिन्छ । तर त्यहि पानी नभई मानिसको मात्र होइन कुनै पनि प्राणीको प्राणसमेत धानिँदैन ।

विश्वमा पानीकै निम्ति कतिपय देशहरु र केही मुलुकका विभिन्न समूहबीच ठूला लडाईं र काटमार हुने गरेको छ । हाम्रोमा भने बोटलको पानीमै राजनीति शुरु भएको छ ।असोज पहिलो साता ललितपुरमा सम्पन्न एमालेको विधान अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिर टाँसेको पानीको बोटल बाँडिएको थियो । कम्युनिष्ट पार्टीका अध्यक्षलाई सर्वव्यापी बनाउने उद्देश्यले आयोजकहरुले उक्त हर्कत गरेको भनेर त्यतिबेलै आलोचना भएको थियो ।

अस्तिदेखि राजधानीमा शुरु भएको काँग्रेसको महाधिवेशनमा पनि पानी राजनीति जारी छ । एक महिनाअघि गैरकानुनी रुपमा भारतीय योगगुरु रामदेवको पतञ्जली टेलिभिजन उद्घाटन गरेको आरोप प्रधानमन्त्री शेरबहादुर देउवालाई लागेको थियो । अहिले त्यहि आरोप लागेको संस्थाले काँग्रेसको महाधिवेशनमा पिउने पानीको प्रबन्ध गरिदिएको हो ।

पतञ्जली दिव्यजलको स्टिकर टाँसिएको पानीको बोटल अहिले काँग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा यत्रतत्र देखिन्छ । आयोजकले करोडौं खर्चेर महाधिवेशन सम्पन्न गर्न लागेको बताइरहँदा केही लाख भए पुग्ने पानीमा नेपाली काँग्रेसले र्याल चुहाएको भनेर आलोचना शुरु भएको छ ।

देउवाइतर काँग्रेसीहरुले नै भनेका छन्, ‘बिना इजाजत टेलिभिजन खोल्न दिने प्रधानमन्त्रीलाई भृकुटीमण्डपमा नै पतञ्जलीको दिव्यजल कोशेली !”

टिप्पणीहरू