काँग्रेसमा सभापति र सहमहामन्त्रीसहित ६० जनाको उम्मेदवारी फिर्ता
काँग्रेसको जारी १४ औं महाधिवेशनमा एक सभापतिसहित ६० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार हिजो भएको मनोनयन दर्ता क्रममा एक सय ३४ पदका लागि पाँच सय ४८ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
निर्वाचन कार्यतालिकाअनुसार आज बिहान साढे ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो । निर्वाचन समितिले डेढ घण्टा समय थपेर साढे १२ बजेसम्म उम्मेदवारी फिर्ताको समय निर्धारण गरेको हो ।
यसबीच सभापतिका उम्मेदवार युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । सहमहामन्त्री (थारु कोटा) तर्फका उम्मेदवार सुरेन्द्र चौधरीले पनि उम्मेदवारी फिर्ता लिएको समितिले जनाएको छ ।
यस्तै अरु ५८ जना केन्द्रीय सदस्यका उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् । सभापतिका उम्मेदवार न्यौपानेले शेखर कोइराला र सहमहामन्त्रीका उम्मेदवार सुरेन्द्र चौधरीले उमाकान्त चौधरीलाई सघाउने बताएका छन् । अब सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह,डा. शेखर कोइराला,विमलेन्द्र निधि र कल्याणकुमार गुरुङबीच प्रतिस्पर्धा हुनेछ ।
दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा महेश आचार्य,सुजाता कोइराला,डा. चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन् ।
त्यस्तै दुई महामन्त्री पदका लागि डा. मिनेन्द्र रिजाल, डा प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा. राजाराम कार्कीको उम्मेदवारी परेको छ ।
सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मुल्लाह मनसुर, शेख वकिल, देवराज चालिसे, किशोरसिंह राठौर, रञ्जित कर्ण, जीवन परियार, रामकृष्ण यादव, जीवनबहादुर शाही, विकास लामा, कमला पन्त, तेजुलाल चौधरी, भीष्मराज आङ्दङ्वे, चेतनराज बराल, उमाकान्त चौधरी, गंगा सुनार, महेन्द्र यादव र डिना उपाध्यायले उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेपछि भोलि बिहान मतदान हुने जनाइएको छ ।
टिप्पणीहरू