भारत बस्ने एमाले नेताको आरोप- उपहार चढाउने मात्रै आफ्ना ?

भारत बस्ने एमाले नेताको आरोप- उपहार चढाउने मात्रै आफ्ना ?

एमालेको हालै सम्पन्न दशौं महाधिवेशन र हिजोको केन्द्रीय कमिटीमा मनोनयनपछि धेरै जना नेताले मन कुँडाएका छन् । कतिपयले सामाजिक सञ्जालमा आफ्नो बह पोखेका छन् । पार्टीभित्र चाकडी र चाप्लुसीमा रमाउने नेताका कारण सच्चा कार्यकर्ताहरुलाई पाखा लगाइएको उनीहरुको आरोप छ ।

भारत प्रवासका नेता तिल विश्वकर्माले त्यसैगरी सामाजिक सञ्जालमा पार्टीभित्रको अवस्थालाई छताछुल्ल बनाएका छन् । उनले आफूले एमालेमा दोस्रो कार्यकालको निम्ति निरन्तरताको अवसर नपाएको भन्दै भारत प्रवासको पार्टी गतिविधिको रिपोर्टिङ्ग गर्ने क्रममा सम्बन्धित कमरेडहरुले नेतृत्वसमक्ष आफ्नोविरुद्ध कथा रचिएको उल्लेख गरेका छन् । ‘भारत प्रवासका जिम्मेवार नेताहरूको रिपोर्टिङअनुसार तिल विश्वकर्माले भाारतमा पार्टीको काम नै गरेको छैन भन्ने, अनि त्यस्तो सुन्ने नेतृत्व पनि कस्ता ?’

विश्वकर्माले दाबी गरेका छन्, ‘मैले भारत प्रवासमा काम गरेको छैन भन्नु र पृथ्वी चेप्टो छ भन्नु उस्तै हो । जब कि संघका अध्यक्ष लगभग ४ वर्षदेखि नेपालमा बसेर यस्तै खालका चुक्ली लगाउने र चाप्लुसी गरेर आफ्नो राजनीतिको रोटी सेक्ने काममा लागेको सबैलाई थाहा छ ।’

पार्टी कमिटीका सल्लाहकार नेताले लुधियानाका उपहार बोक्दै नेताका घरघरमा चढाएको र नेतासँग पशुपतिमा फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने बाहेक भारत प्रवासमा आमप्रवासी नेपालीका मुद्दामा सिन्को नभाँचेको उनले लेखेका छन् । संघका नेताले पार्टीको आचरण र नियमलाई समेत उल्लंघन गरेको उनको अनुभव छ ।

‘संघका अध्यक्ष एउटा कम्युनिष्ट पार्टीको नेता भएर पनि सोही पार्टीबाट निर्वाचित इञ्चार्जलाई नेपालको संविधान र कानुनले समेत बञ्चित गरेको अपशब्द प्रयोग गरी जातीय विभेदका कुरा गर्छन्,’ उनले अगाडि लेखेका छन्, ‘आफू अध्यक्ष चुनिएपछि मुखको भरमा काम गरेका छन् । साथमा सामान्य कुनै कलम, डायरी बोकेको देखिँदैन । पार्टीको कुनै सर्कुलर, सूचना लेख्न, सम्प्रेषण गर्न नजान्नेले आज मलाई पार्टी नेतृत्व समक्ष रात दिन काठमाडौं र लुम्बिनी धाएर झुठा, कपोकल्पित कुरा लगाएर मानमर्दन गर्ने ?’

पार्टीमा आफूले व्यक्तिगत रुपमा धेरै आर्थिक तथा भौतिक योगदान गरेको विश्वकर्माले बताएका छन् । आफूले पार्टीले निर्धारण गरेको प्रणालीअनुसार यसअघि समग्र प्रवास हेर्ने जिम्मेवारीमा रहेका कमरेड भीम रावल र विन्दा पाण्डेलाई सबै रिपोर्टिङ गरे पनि त्योभन्दा माथिल्लो तहमा चुक्लि लगाएर पार्टी जिम्मेवारीबाट हटाउन आवश्यक भूमिका खेलिएको रहस्य खोलेका हुन् ।

उनले लेखेका छन्, ‘त्यतिबेला अन्य देशलाई झैँ अमेरिकाको निम्ति युवराज कार्की, युरोपको लागि रामकुमारी झाँक्री, खाडी मुलुकको निम्ति श्रीप्रसाद शाह, ओसियानाको निम्ति राजन राई र भारत प्रवास हेर्ने जिम्मेवारी तिल विश्वकर्मालाई दिइएको थियो ।’ त्यतिबेलाको कामको रिपोर्टिङ आफूले नेतृ विन्दा पाण्डे मार्फत् गर्ने गरेको खुलासा गरिएको छ ।

एमाले र माओवादी पार्टीबीच एकीकरण पश्चात् पनि उनको जिम्मेवारी साउथ–एसिया इञ्चार्ज नै रहेको र सह–इञ्चार्जमा माओवादीबाट राखिएको थियो । समग्र प्रवासको प्रमुखमा माओवादीबाट नेता नारायणकाजी श्रेष्ठ र युवराज चौलागाईं हुनुहुन्थ्यो । त्यसैगरी पार्टी एकीकरणपछि दुबै पार्टीका प्रवासमा रहेका जनवर्गीय संगठनको निम्ति लोकनाथ भण्डारीको संयोजकत्वमा लक्ष्मण पन्तसहितको कार्यदल बनेको पनि विश्वकर्माले उल्लेख गरेका छन् ।

त्यसो हुँदा भारत प्रवासमा रहेका दुबै पार्टीका जनवर्गीय संगठनबाट ५० प्रतिशतमको अनुपातमा १ सय ९९ केन्द्रीय समिति गठन गरेर सेप्टेम्बर –२०१८ मा पार्टी नेतृत्वलाई कार्यसम्पादन सहित हस्तान्तरण गरेको सन्दर्भ पनि उनले समेटेका छन् । गत वर्षको पुस ५ गतेपछि पार्टीभित्र विकसित घटनाक्रम पश्चात् पुनः भारत प्रवास र समग्र प्रवास हेर्ने जिम्मेवारी राजन भट्टराईलाई दिइएको थियो ।

सोहीअनुरुप आफूले सबैकाम गरेको, पार्टीको प्रथम विधान महाधिवेशन र १० औं महाधिवेशनसम्मका भारत प्रवासको सदस्यता नवीकरण, प्रतिनिधिका नामवली, त्यसका अतिरिक्त १० औं महाधिवेशनमा भारतका विभिन्न राजनीतिक पार्टीलाई निमन्त्रणा फ्लोअपका काम पनि नेता भट्टराईको निर्देशनअनुसार आफूले गरेको तिलले बताएका छन् ।

तर पार्टीको केन्द्रीय कमिटीको दोस्रो कार्यकालमा सम्मानजनक रुपमा निरन्तरता पाउनु पर्नेमा आफूलाई प्राकृतिक न्यायको सिद्धान्त विपरीत कुनै कारण वा स्पष्टिकरण नसोधी हटाउने कार्यप्रति उनले दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै पनि आन्दोलनमा लागि परेका नेता कार्यकर्ताको लागि उक्त कार्य कदापी न्यायोचित होइन ।’

भारत आफैंमा ठूलो भूगोल भएकाले अन्य पार्टीबाट समेत एक जनाभन्दा बढी इञ्चार्जको व्यवस्था गरिएको उनको अनुभव छ । तर एमालेबाट आफू एक्लैले सबै जिम्मेवारी इमान्दारिताका साथ वहन गर्दा अहिले उल्टोबाट पुरस्कृत गरिएकोमा उनले दुःखेसो व्यक्त गरेका हुन् । उनले लेखेका छन्, ‘भारत प्रवासको एमाले नेतृत्वले मलाई मात्र हैन यसभन्दा पूर्वका इञ्चार्ज देवी ज्ञवाली, संघका अध्यक्ष तथा तत्कालीन भारत प्रवास कमिटीका सचिव खेमचन्द्र ढकाल, संघका बहालवाला महासचिव युवराज बास्कोटाको समेत उठिबास गराएका थिए । मलाई पनि गर्न खोजिएको त्यही हो ।’

तर त्यसो गर्दैमा आफ्नो उठिबास नहुने तिलको निश्कर्ष छ । भारतमा रहँदा बस्दा ती नेताहरुमा आश्रित हुन नपरेको उनले सगर्व लेखेका छन् । ‘व्यक्तिगत रुपमा १५ देखि २० लाख रुपैयाँ खर्च गरेर भए पनि पार्टीले दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छु । संघ वा पार्टीले अहिलेसम्म मेरो कुनै बिल भुक्तानी समेत गरेको छैन ।’ पार्टी नेतृत्वमा रहेका केही कमरेडले उक्त वास्तविकता बुझ्न नसक्नु नै सबैभन्दा ठूलो बिडम्बना भएको उनले खुलासा गरेका छन् ।

टिप्पणीहरू