महाधिवेशन काङ्ग्रेसको,फोटो छपक्कै महरा र गोकुलको

महाधिवेशन काङ्ग्रेसको,फोटो छपक्कै महरा र गोकुलको

नेपाली कांग्रेसको जारी १४ औँ महधिवेशनमा विभिन्न पदका उम्मेदवारहरु अहिले भोट माग्न व्यस्त छन् । प्यानल बनाएर निर्वाचनमा होमिएका उम्मेदवारहरुलाई भोट माग्न भ्याई नभ्याई छ । प्रतिनिधिहरु पनि आफ्ना उम्मेदवारका फोटो अंकित कार्ड भिरेर भृकुटीमण्डप वरपर हात जोड्दै हिंडिरहेका छन् ।

उम्मेदवारहरुले आफ्नो पक्षमा माहोल बनाउन नयाँ-नयाँ फन्डासमेत अपनाएका छन् । जसमध्ये केन्द्रीय सदस्यका उम्मेदवार तथा प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीको फोटो अंकित पोष्टर भृकुटीमण्डपतिर विशेष चर्चामा छ ।

खुलातर्फ केन्द्रीय सदस्यमा उठेका शिवाकोटी हाम्राकुरा डककमका सन्चालक तथा प्रधान सम्पादक हुन् । तत्कालीन सभामुख कृष्णबहादुर महराको ‘यौनकाण्ड’ र पूर्वमन्त्री तथा एमाले नेता गोकुल बाँस्कोटाको ‘७० करोडकाण्ड’ हाम्रा कुराले नै सार्वजनिक गरेको थियो ।

हाम्रा कुराले सनसनीपूर्ण समाचार बाहिर ल्याएपछि महरा र बाँस्कोटाले पद छोड्नुपरेको थियो । तर, अदालतले सफाई दिइसकेको र अख्तियारमा बिचाराधीन यहि विषयलाई अहिले शिवाकोटीको टीमले आफ्नो चुनावी हतियार बनाएको छ । शिवाकोटीलाई भोट अपिल गर्न बनाइएको पोष्टरमा महरा र बाँस्कोटाको फोटो राखेर ‘सभामुख र मन्त्रीबाट पदच्युत गर्ने साहसी पत्रकार’ भन्दै प्रचार गरिएको छ ।

टिप्पणीहरू