‘हाउस र एमसीसीबारे केही कुरै भएको छैन’
संघीय संसदको हिउँदे अधिवेशन पर्सीदेखि शुरु हुँदैछ । सरकारले एकाएक बोलाएको अधिवेशनलाई लिएर नेपाली काँग्रेसबाहेक सत्तारुढ गठबन्धनका अन्य दलहरु सशंकित छन् ।
संसदको अधिवेशनलाई लक्षित गरेर भाेलि नयाँ बानेश्वरमा संसद अधिवेशनमा सहभागी हुने सभामुख,राष्ट्रिय सभाका अध्यक्ष, सांसद तथा कर्मचारी सबैको एन्टिजेन परीक्षण गर्ने सूचना जारी भएको छ ।
यता प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको महाधिवेशनमा व्यस्त हुनुहुन्छ । गठबन्धनको अन्य दलका नेताहरुले उहाँसँग यसबीचमा सम्पर्क समेत गर्न भ्याउनुभएको छैन ।
तर, हाउस बोलाउनेबारे भित्री कुरो थाहा नपाइएकोमा उहाँहरु पनि असमञ्जस्यताको अवस्थामा देखिनुभएको उच्च राजनीतिक स्रोतको दाबी छ ।
गठबन्धनका एक जना शीर्ष नेतालाई उद्धृत गर्दै स्रोतले भनेको छ, ‘ त्यसबारे केही कुरा र सरसल्लाह नै भएको छैन । तर हाउस भने एकाएक बोलाइएको छ । संवेदनशील विषय भएकाले पहिले महाधिवेशन सकियोस् अनि कुरा गरौंला भनेर कुरेका छौं ।’
नेकपा माओवादी केन्द्रको उच्च स्रोतले पनि अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्ने विषयमा अहिलेसम्म कुनै वातावरण नबनेको पुष्टि गरेको छ ।
माओवादी स्रोतका अनुसार कुनै पनि दीर्घकालीन र रणनीतिक महत्वका सम्झौता पारित गर्नको लागि पहिले त्यसको विषयवस्तु ठीक वा बेठीकबारे सबै ‘क्लियर’ हुनुपर्ने छ ।
एक जना नेताका अनुसार ‘पब्लिक ओपिनियन’, राजनीतिक माहौल र परिस्थितिलाई ध्यान नदिने हो भने अर्कै कुरा । होइन भने यी सबै पक्षलाई ध्यान दिनैपर्छ ।
यसबीचमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्षले भने सतहमा बिरोध गरे पनि अन्तर्यमा नाक जोगाएर सम्झौता पारित गर्ने संकेत दिनुभएको काँग्रेस स्रोतको दाबी छ ।
‘ओलीले सम्झौता पारित गर्नै परे हाम्लाई सम्झिनुहोला,’ भनेर सांकेतिक वचन दिनुभएको प्रधानमन्त्री पक्षधरहरुले बताउनुले पनि संसद अधिवेशनको अप्रत्यासित आह्वानलाई धेरैले शंका र चासोका साथ हेरेका हुन् ।
टिप्पणीहरू