बादल एमालेमा ५ नम्बर
नेकपा एमालेमा पूर्वमाओवादी नेता रामबहादुर थापा बादलको वरियता पाँचौँ स्थानमा पुगेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकमा नेताहरुको वरियताक्रम निर्धारण हुँदा बादल झन् तल झरेका हुन् ।
यसअघि बादलको बरियता प्रष्ट थिएन । अध्यक्ष ओली र ईश्वर पोखरेलपछि तेस्रो बरियतामा रहेको भनिएको थियो । तर,दशौँ महाधिवेशनपछि भने उनको बरियता खुम्चिएको छ । हालै सम्पन्न दशौँ महाधिवेशनबाट निर्वाचित ६ जना उपाध्यक्षमा बादललाई युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यभन्दा मुनि राखिएको छ । त्यस्तै, उपाध्यक्षहरु भन्दा माथि अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल छन् ।
त्यस्तै,उपाध्यक्षहरुमा बादलपछिको वरियतामा विष्णु पौडेल,सुवास नेम्वाङ र सुरेन्द्र पाण्डे रहेका छन् । माओवादीबाट एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी र लेखराज भट्टलाई भने सात जना सचिवको माथिल्लो वरियतामा राखिएको छ । रायमाझी र भट्टपछि क्रमशस् रघुवीर महासेठ,छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट,योगेश भट्टराई, पद्मा अर्याल रहेका छन् ।
माओवादी जनयुद्धताका सैन्य रणनीतिकारको रुपमा चर्चा कमाएका बादल एमाले(माओवादी एकतापछि बनेको नेकपाको ९ सदस्यीय सचिवालयमा रहेका शीर्ष नेता हुन् । नेकपाको अन्तरसंघर्षका बेला कतै पनि नलागी तटस्थ भूमिका खेलेका उनी पार्टी विभाजनपछि भने केपी ओलीतिर लागेका थिए ।
फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई एकतापूर्वको अवस्थामा फर्काइदिएपछि आफूनिकट सबै नेता(कार्यकर्ता माओवादीमै छोडेर बादलले एमाले रोजेका थिए । त्यतिबेला ओलीपछिको वरियता र सहअध्यक्षको आश्वासन पाएर उनले एमाले रोजेको चर्चा थियो ।
त्यसयता एमालेको आन्तरिक बैठक र कार्यक्रमहरुमा बादललाई त्यतिबेलाका महासचिव ईश्वर पोखरेल र पूर्वसभामुख सुवास नेम्वाङभन्दा पनि तल्लो वरियतामा राखिंदै आएकोमा अहिले झन् तल पारिएको हो ।
टिप्पणीहरू