‘केपी ओली राजा बन्न खोज्दा पछारिए’
एमाले अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रको झल्को दिँदै आफ्नो स्वार्थअनुसार सत्ताप्राप्तिका लागि वाम एकता गरेर राजकीय शासन गरेको आरोप लागेको छ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवम् बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उक्त आरोप लगाउनु भएको हो ।
उहाँले ओलीले आफूलाई राजाका रुपमा प्रस्तुत गरेको भन्दै मुख्यमन्त्री पाण्डेले त्यस्ता घमण्ड र अहम्ले अन्ततः ओलीलाई नै राजनीतिक रुपमा समाप्त पारेको बताउनुभएको छ ।
मकवानपुरको मनहरी ९ स्थित नेकपा एकीकृत समाजवादीको भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘आफूलाई सुपर ठान्ने घमण्डीहरु राजा ज्ञानेन्द्र र ओली झैँ सकिँदै जाने छन् ।’ मुख्यमन्त्री पाण्डेले आफूहरुले केपी ओलीलाई राजनीतिक रुपमा दीर्घकालसम्म बाँचेको देख्न चाहे पनि त्यो चाहना उहाँकै कारण पूरा नभएको बताउनुभयो ।
‘मदन भण्डारी र मनमोहन अधिकारीहरुको शरीर भौतिक रुपमा नरहे पनि उहाँहरु हजारौँ वर्ष बाँचिरहनु हुनेछ’, पाण्डेले भन्नुभयो, ‘ओलीलाई पनि त्यो अवसर आएको थियो, तर उहाँमा त्यस्तो हुने रहर नै पलाएन ।’
उहाँले आफू प्रधानमन्त्री हुनैका लागि मात्रै पार्टी एकताको नाटक गरेको र कम्युनिष्ट आन्दोलनलाई तहसनहस पारेको दाबी गर्नुभयो । गिरीबन्धु काण्डलगायत थुप्रै घटनामा अर्बाै भ्रष्टाचार गरेर ओली नेतृत्वको सरकारले सम्पूर्ण वामपन्थी समर्थक र मतदाताहरुलाई धोका दिएको बताउनुभएको छ ।
चुनावी चिन्हको प्रसंग कोट्याउँदै उहाँले आफूले पञ्चायतकालमा हात्ती चुनाव चिन्हमा चुनाव लडेको र अत्यधिक मत ल्याएको बताउनुभयो । पछि अन्य चिन्हहरुमा पनि चुनावमा सहभागी भई विजयी भएको उदाहरण प्रस्तुत गर्दै उहाँले सूर्य चुनाव चिन्ह देखाएर केही समय मानिसलाई भ्रममा पार्ने काम एमालेले गरिरहेकाले त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो ।
मुख्यमन्त्री पाण्डेले खानेपानी पहिलो प्राथमिकतामा राखी आफूले काम गरिरहेको र सिँचाइ, बाटोघाटोलगायतका पूर्वाधार विकासका लागि प्रदेश सरकारले तत्काल लगानी गर्ने भएकाले त्यस्ता योजनाहरु ल्याउन जनसमुदायमा आग्रह गर्नुभयो ।
सोही कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य राजाराम स्याङ्तानले सामाजिक हिसाबले निस्वार्थ भएर काम गर्ने व्यक्तिहरु नै लोकप्रिय भएर आगामी चुनाव जित्ने उदाहरण प्रशस्त रहेको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादीको पक्षमा लहर आउने समेत दाबी गर्नुभएको छ ।
टिप्पणीहरू