देउवालाई मिल्यो प्रकाशमानको साथ

देउवालाई मिल्यो प्रकाशमानको साथ

कांग्रेस नेता प्रकाशमान सिंहले दोस्रो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई सघाउने निर्णय गरेका छन् । पहिलो चरणको निर्वाचनमा तेस्रो स्थानमा रहेर प्रतिष्पर्धाबाट बाहिरिएका सिंहले देउवालाई साथ दिने निर्णय गरेका हुन् ।

आज बिहान चाक्सीबारीमा भएको देउवा-सिंह भेटवार्तामा यस्तो सहमति भएको हो । दुवै नेताबीच लिखित सहमति भएको छ। उच्च जानकार स्रोतले बताएअनुसार देउवाले सिंहलाई सरकारमा लैजाने र आगामी महाधिवेशनमा सभापति बनाउने लिखित प्रतिवद्धता जनाएपछि सहमति जुटेको हो ।

यसअघि मतगणना सम्पन्न भएलगत्तै सिंहको समर्थन खोज्दै देउवा सिंह निवास चाक्सीबारी पुगेका थिए।

कांग्रेसको विधानमा सभापतिमा विजयी हुनका लागि कूल गणना भएको मतको ५० प्रतिशत बढी मत ल्याउनुपर्ने व्यवस्था छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतबढी मत ल्याउन नसके बढी मत ल्याउने दुई उम्मेदवारबीच पुन: प्रतिष्पर्धा हुनेछ ।

पहिलो चतान्को निर्वाचनको अन्तिम मत परिणामअनुसार देउवाले २ हजार २ सय ५८, शेखर कोइरालाले १ हजार ७ सय २, प्रकाशमान सिंहले ३ सय ७१, विमलेन्द्र निधिले २ सय ५० र कल्याण गुरुङले २२ मत पाएका थिए । देउवाले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।

टिप्पणीहरू