चितवन बन्द : १२ प्रदर्शनकारी पक्राउ, सडकमा नाराबाजी जारी
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी ) सम्झौता खारेजीको माग गर्दै आज आह्वान गरिएको चितवन बन्दको प्रभाव सामान्य परेको छ । विभिन्न १३ वटा दल तथा समूह सम्मिलित एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समितिले सम्झौता खारेजीको माग गर्दै चितवन बन्दको आह्वान गरेको हो ।
बन्दको त्रासले बजार क्षेत्रका पसल र विद्यालयहरू खुलेका छैनन् । लामो दूरीका मालबाहक र यात्रुबाहक सवारी साधनहरू पनि तुलनात्मक रुपमा कम चलेका छन् । छोटोदूरीका सवारीसाधन भने ठप्प छन् ।
पसल तथा सवारी साधनहरू बन्द गराउँदै हिँड्ने एक दर्जन बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बन्दकर्तालाई नारायणगढको लायन्सचोक र पूर्वी चितवनको भण्डाराबाट नियन्त्रणमा लिइएको हो ।

जबर्जस्ती बन्द गराउँदै हिँडेका बन्दकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेकामा सन्देश पौडेल, प्रकाश ढकाल, बद्रीनाथ अधिकारी, डम्बर पुरी, राजुप्रसाद पौडेल, सुरेश गौतम र रेशम थापा हुन् ।
त्यस्तै, अनिल परियार, कृष्ण सुनार, अशोक शर्मा, घननाथ सापकोटा, राम सेढाईं र ओमप्रसाद डल्लाकोटीलाई पनि नियन्त्रणमा लिइएको छ । पक्राउ परेकालाई साँझ रिहा गर्न सकिने प्रहरी स्रोतले बताएको छ ।
पक्राउ परेका बन्दकर्ताको रिहाई र एमसीसी सम्झौता खारेजीको माग गर्दै नारायणगढमा पुनः प्रदर्शन र नाराबाजी गरिएको छ । ‘राष्ट्रघाती सम्झौता खारेज गर’, ‘अमेरिकी दलाल होशियार’ लगायत नारा लगाएर र्यालीसमेत निकालिएको थियो ।

लायन्सचोकबाट सुरू भएको ¥याली पुलचोक पुगेर पुनः लायन्सचोकमा आएपछि समापन भएको हो । एमसीसी सम्झौता नेपाल र नेपालीको हित विपरित रहेकाले खारेजीको माग गरिएको एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समितिका संयोजक फणिन्द्र आचार्यले बताए ।
‘जनताले विगतमा गरेको दबाबले अहिलेसम्म एमसीसी पास हुन सकेको थिएन । तर, अहिले पारित गर्नका लागि विभिन्न षड्यन्त्र बनाइएको छ’, उनले भने, ‘जनताले शसक्त ढंगले यसको विरोध गरेनन् भने विदेशी दलालहरु यो राष्ट्रघाती सम्झौता पास गर्ने तयारीमा छन् ।’
एमसीसी सम्झौता खारेजीको लागि विप्लव नेतृत्वको माओवादी, ऋषि कट्टेल समूहको माओवादी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा माले, देशभक्त जनगणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीलगायतका दलले ऐक्यबद्धता जनाएका छन् ।
टिप्पणीहरू