अष्ट्रेलियामा कामदार अभाव, सीमा खुला गर्ने निर्णय

अष्ट्रेलियामा कामदार अभाव, सीमा खुला गर्ने निर्णय

विभिन्न श्रेत्रमा कामदार अभाव देखिन थालेपछि अष्ट्रेलिया सरकारले मुलुकको सीमा खोल्ने निर्णय गरेको छ । अष्ट्रेलिया सरकारले भोलिदेखि विद्यार्थी र भिसा भएका विदेशी नागरिकहरुको लागि सीमा खुला गर्ने निर्णय गरेको हो ।

दुई साता अघि नै सीमा खोल्ने भनिए पनि ओमिक्रोन भाइरसको संक्रमण देखापरेपछि अस्ट्रेलियाले उक्त निर्णय स्थगित गरेको थियो । त्यहाँका प्रधानमन्त्री स्कट मोरिसनले दक्षिण अफ्रिकामा ओमिक्रोन देखिएपछि दुई साताको लागि सीमा बन्दको घोषणा गरेका थिए ।

प्रधानमन्त्री मोरिसनका साथै स्वास्थ्यमन्त्री ग्रेग हन्टलगायतले ओमिक्रोन भाइरसका बारेमा थप जानकारी हासिल गर्न भन्दै डिसेम्बर १ देखि खोल्ने भनिएको सीमा डिसेम्बर १५ सम्म बन्द गरेका थिए । कोरोना भाइरसका कारण सीमा बन्द भएपछि त्यहाँको कृषिका साथै अधिकांश क्षेत्रमा विदेशी कामदारको चर्को अभाव देखिएको हो ।

सरकारको उक्त निर्णयले अष्ट्रेलियामा देखिएको जनशक्ति अभावलाई केही हदसम्म पूरा गर्ने अपेक्षा गरिएको छ । अष्ट्रेलियाको अघिल्लो निर्णयका कारण हवाईजहाजको टिकट लिएर बसेका हजारौं नेपाली विद्यार्थीसमेत प्रत्यक्ष प्रभावित बनेका थिए ।

तर, हिजो प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीले डिसेम्बर १५ देखि अन्तर्राष्ट्रिय सीमा खोल्ने निर्णयलाई निरन्तरता दिएको जानकारीसँगै सबैलाई राहत पुगेको छ । यद्यपि अष्ट्रेलिया भित्रिनको लागि त्यहाँको सरकारले विभिन्न स्वास्थ्य प्रोटोकल अघि सारेको छ ।

अष्ट्रेलिया छिर्न पूर्णखोप लगाएको हुनुपर्नेछ भने तीन दिनअघिको पीसीआर परीक्षण नेगेटिभ हुनुपर्नेछ । त्यहाँ पुगेपछि १४ दिनको क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने छ ।

१४ दिनको क्वारेन्टिन शुल्क आफैँले तिर्नुपर्नेछ । अष्ट्रेलियाले आफ्नो मुलुकको सीमा बन्द गरेको झण्डै २० महिना नाघिसकेको छ ।

टिप्पणीहरू