पूर्वराजाद्वारा को–को परिचालित ?
कहिले सांग्रिला त कहिले हिमालय होटलका कोठामा साउती मारिँदै गए । व्यक्ति–व्यक्ति तानेर आँैलो ठड्याउँदै भनियो, ‘ख्याल गर्नु है, ख्याल गर्नु !’ र, सबैले ‘ख्याल’ गरिदिँदा आइतबार बिहान देशवासीका कानमा खबर गुञ्जियो, ‘राप्रपा अध्यक्षमा कमल थापा पराजित !’
कमल थापाले दावी गरेजस्तो राप्रपा महाधिवेशनमा उनलाई पराजित गराउन स्वयं पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको पूरै शक्ति प्रयोग भएको सुरक्षा संयन्त्रका रिपोर्टहरूले बताएका छन् । पूर्वराजाका तर्फबाट उनका सचिवहरू डा. फणिराज पाठक, सागर तिम्सिना, पशुपतिभक्त महर्जनहरू प्रयोग गरिएका थिए भनिन्छ ।
यीबाहेक महाधिवेशन प्रतिनिधिलाई प्रभावित पार्नका लागि ज्ञानेन्द्रको पहिलो क्याबिनेटकी महिला, बालबालिका मन्त्री दुर्गा श्रेष्ठ, स्व.हेमबहादुर मल्लकी पत्नी शारदा, ०४६ सालअघिको पञ्चायत नीति तथा जाँचबुझ समितिका सदस्य–सचिव नूतनदेव खनाल, शाहीकालीन स्थानीय विकासमन्त्री खड्गबहादुर जिसीसम्म खटिए ।
भनिन्छ, उनीहरू कमल थापालाई जसरी पनि हराउने भन्नेमा लागे । बाँकीका विषयमा प्रतिनिधिहरूले आ–आफ्नो विवेक प्रयोग गर्न पाउने भनियो । फलतः निर्वाचन परिणामअनुसार अध्यक्ष र महामन्त्रीमा राजेन्द्र लिङ्देन र धवलसमशेर बाहेक बाँकी सबैजसो पदाधिकारी कमल थापा पक्षधर निर्वाचित भए ।
दरबारले प्रतिनिधिसँगै महाधिवेशनका प्राविधिक विषयमा काम गरिरहेका व्यक्तिहरूसम्म आफ्नो उपस्थिति जनायो । निर्वाचन गराउने टोलीले भनेको थियो, यदि अध्यक्षलाई नहराई नहुने हो भने विद्युतीय मतदान हैन, परम्परागत मतदान गराउनुपर्छ । किनभने, त्यसो गर्दा कतिपय मतलाई बदर गराउने ठाउँ हुन्छ ।
तर, विद्युतीयको जोखिम कस्तो भने, हत्तपत्त मत बदर हुँदैन । त्यसैले उक्त विधि नअपनाइएको राप्रपास्रोतले जनाएको छ । कमल थापालाई हराउनुपर्ने चुनौतिलाई व्यवस्थापन गर्न अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका नेपालगञ्जका मेयर धवलसमशेर राणालाई महामन्त्रीमा उठाउने काम पनि दरबारबाटै भएको बताइन्छ । लिङ्देन र धवलले महाधिवेशन हुनुभन्दा दुई दिनअघि सँगै निर्मल निवासमा पूर्वराजासँग भेटेका थिए ।
निर्वाचन परिणामपछि पूर्वप्रधानसेनापति स्व.नरसमशेरका सन्तानदेखि ज्ञानेन्द्रकी बुहारी हिमानी, नातिनी कृतिकासम्मले ‘नयाँ युग शुरु भयो’ भन्ने प्रतिक्रियाहरू सामाजिक सञ्जालमा प्रस्तुत गरेका छन् ।
टिप्पणीहरू