कार्यस्थलमा हिंसा भएका महिला पत्रकारलाई उजुरी गर्न आग्रह
प्रेस काउन्सिल नेपाल र राष्ट्रिय महिला आयोगले कार्यस्थलमा हुने हिंसाबारे उजुरी गर्न महिला सञ्चारकर्मीलाई आग्रह गरेको छ । काउन्सिलको आयोजनामा भएको मिडियामा हुने महिला हिंसाको अवस्था र न्यूनीकरणको उपाय विषयमाथिको छलफलमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले कार्यस्थलमा हुने हिंसाबारे उजुरी गर्न र हिंसा निर्मूलीकरणमा सघाउन आग्रह गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले पत्रकार आफू हिंसामा परे पीडकको नामसहित उजुरी दिन र कारबाहीको दायरामा ल्याउन सहयोग पु¥याउन आग्रह गर्नुभयो । पत्रकारले दिने सूचना र समाचारले परिवर्तन ल्याउने उहाँको भनाई थियो । सञ्चारकर्मी महिलामा हुने जिम्मेवारी विभेदका कारण हिंसा हुने गरेको भन्दै उहाँले आयोगमा आउने उजुरीमा ७५ देखि ७८ प्रतिशत हिंसा घरेलु हुने गरेको जानकारी पनि दिनुभयो ।
काउन्सिलका अध्यक्ष बस्नेतले महिलासम्बन्धी उजुरी र गुनासा सम्बोधनलाई काउन्सिलले प्राथमिकतामा राखेको भन्दै हिंसासम्बन्धी उजुरी सुनुवाइमा काउन्सिल र आयोगले समन्वय गरेर समस्या समाधान गर्ने विश्वास दिलाउनुभयो । उहाँले सञ्चारमाध्यममा महिला उत्तरदायी सञ्चार निर्देशिकाको कार्यान्वयन गरी लैङ्गिकमैत्री मिडिया बनाउन काउन्सिलले काम गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी अधिकांशले मिडियामा महिलामाथि विभिन्न तरिकाबाट हिंसा हुने गरेको, त्यसका बारेमा उजुरी गर्ने उचित निकायसमेत नभएको र आफूभन्दा माथिल्लो निकायमा गुनासो गर्दा पिडितको जागिर नै खोसिने तथा झनै अपमानित हुनुपर्ने अवस्था रहेको बारे खुलेर कुरा राखेका थिए ।
टिप्पणीहरू