‘ठग सुन्दरी पत्रकार’ थुनाउने इन्द्र झण्डै ठहरै

‘ठग सुन्दरी पत्रकार’ थुनाउने इन्द्र झण्डै ठहरै

पेशा र पहुँचको आडमा अनुचित आर्थिक लाभ लिन अभ्यस्त पत्रकार एन्जिना कार्की अहिले सोह्रखुट्टे प्रहरीको खोरमा छिन् भने दोस्रो पटक उनको म्याद थपकै दिन अस्ति सोमबार दिउँसो उजुरकर्ता ज्ञानेन्द्र शर्मालाई बबरमहलस्थित काठमाडौं जिल्ला अदालतअगाडि मोटरसाइकलले ठक्कर दिएर आँखा र हातमा चोट पु¥याएको घाइते बनाएको छ ।

ललितपुरको भैंसेपाटीमा स्वीमिङ पुलसहितको अपार्टमेन्ट र फेरिफेरि महंगो गाडी चढ्ने अनि अनलाइनबाट छरपष्ट पारिदिन्छु भनी ठाडै डिल गर्ने सोलुखुम्बुकी एन्जिनाको आर्थिक प्रगति देखेर साथीहरू पनि छक्क पर्थे । तर, पछि थाहा भयो, उनको पेशा पत्रकारिता भनिए पनि कामचाहिँ पैसा असुली रहेछ ।

ठग्नका लागि पूर्व अख्तियार प्रमुख लोकमानसिंह कार्की, भूपूएआइजी पुष्कर कार्कीदेखि गायक आनन्द कार्कीसम्मलाई आफन्त बताउने र ठगिने मान्छेलाई ‘र’ लगायत विभिन्न व्यक्ति र संस्थाको नाम लिएर धम्क्याउनेसम्मको काम गर्ने गरेको पीडितहरू बताउँछन् । निकटस्थ पत्रकारहरूलाई तीजमा दर र साँझ बिहान खानपान गराउने उनले कार्यस्थलमा हुने यौनजन्य हिंसा ( प्रकाशचन्द्र दाहाल र प्रतिमा प्रकरण)बाट पीडित र कोरोनाको कहरबीच मृत्यु भएकी एक महिला पत्रकारको समेत रकम ठगी गरेकी थिइन् । तराई टेलिभिजनबाट पत्रकारिता शुरु गरी हिमालयन टिभीमा काम गरेकी उनी गत डिसेम्बरसम्म पनि भारतीय न्युज च्यानल जी न्युजमा संलग्न थिइन् ।

जी न्युजमा काम गर्न थालेपछि तीन वर्षबीच उनको अपार्टमेन्ट बसाइ, गाडी फेराइ र राम्रा, महंगा खुवाइ तथा लगाइबाट साथीहरू झस्किएका थिए । पत्रकार महिलाका छोराछोरीलाई आफ्नो अपार्टमेन्टमा पौडी खेल्न लाने र एउटा सञ्चारटोली अब छिट्टै भारत घुमाउन लान्छु भन्ने उनले अघिल्लो महिनामात्रै असुलेको पैसाले अर्को ब्रान्ड न्यू कार भिœयाएकी थिइन् ।

पीडितहरूका अनुसार, उनले ठगी गर्न काठमाडौंका ठूला–ठूला बैंक, बित्तीय संस्था, सहकारीका सञ्चालक र हाकिमहरू कसैलाई बाँकी राखिनन् । कसैको कमजोरी पत्ता लागेपछि त्यसमै चलखेल गरेर पैसा लिने तरिका थियो । नयाँ बजारमा सहकारी भएको व्यापारी, जसको चामलको स्टोर पनि छ– ती व्यक्ति यिनीबाट अलिक बढी पीडित छन् । उनीसँग कोभिडको बेलामा १५ लाख रुपैयाँ लिएकी थिइन् ।

ज्ञानेन्द्र शर्माको जाहेरीले बादी नेपाल सरकार भएको ठगी तथा अपराधिक लाभ मुद्दामा जनसेवा प्रहरीको च.नंं. ५३४० को पत्रसाथ अस्ति सोमबार २७ गते पेश हुन आएकी एन्जिना कार्कीलाई अनुसन्धान गर्न मनासिव आधार र कारण देखिएको तथा बयानसमेत नभएकोले मागबमोजिम दोस्रो पटक ३ दिन हिरासतमा राख्न न्यायाधीश नवराज दाहालको इजलासबाट आदेश भएको छ ।

फिर्ता गर्न भनिँदा उल्टै धम्क्याउने र उच्चपदस्थ व्यक्तिहरूको नाम लिएर ‘म बाँकी राख्दिनँ’ भन्ने उनको बानी नै थियो भनिन्छ । समाजमा यस्ता ‘मौखिक पत्रकार’ को जगजगी बढ्दा पत्रकारिता पेशाको त बदनामी भएकै थियो, नगद असुलीको भिडियो र अडियो प्रमाणसहित फेला पर्दा पनि उन्मुक्ति दिइने अवस्था आयो भने त्यसले दिने सन्देश र हौसलाको रेक्टर स्केल निकै माथि पुगेर कोही पनि धम्की खान बाँकी नरहने पक्का रहेको पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टको ठहर छ ।

टिप्पणीहरू