उपसभापतिको ट्यांकी घोप्ट्याइयो

उपसभापतिको ट्यांकी घोप्ट्याइयो

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । आज बिहान सभापति पदको गणना सम्पन्न भैसकेको छ भने अहिले उपसभापति पदको गणना थालिएको छ ।

निर्वाचन समितिका अनुसार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा उपसभापति पदको मतगणना भैरहेको छ । प्रारम्भिक मतपरिणाम अहिलेसम्म सार्वजनिक भएको छैन ।

कांग्रेसमा दुई जना निर्वाचित हुने उपसभापतिमा ७ जना प्रतिष्पर्धामा छन् । शेरबहादुर देउवा प्यानलबाट विजयकुमार गच्छेदार र पूर्णबहादुर खड्का र शेखर कोइराला प्यानलबाट चन्द्र भण्डारी र धनराज गुरुङ उपसभापतिमा भिडेका छन् । त्यस्तै, महेश आचार्य, दिव्यश्वरी शाह र सुजाता कोइराला पनि उपसभापतिको उम्मेदवार छन् ।

उपसभापतिको मतगणना सम्पन्न भएलगत्तै महामन्त्रीको गणना हुने निर्वाचन समितिले बताएको छ । महामन्त्रीमा चर्चित युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा र प्रदिप पौडेल प्रतिष्पर्धामा छन् । त्यस्तै, डा. प्रकाश शरण महत र डा. मिनेन्द्र रिजाल पनि महामन्त्रीको उम्मेदवार छन् । उनीहरुमध्ये दुई जना मात्र निर्वाचित हुने हुँदा सबैको चासो महामन्त्रीमा छ ।

सभापतिमा भने शेरबहादुर देउवा निर्वाचित भैसकेका छन् । सभापति पदका पाँच उमेद्वारमध्ये पहिलो चरणमा कसैले पनि आवश्यक मत प्राप्त गर्न नसकेपछि भएको दोस्रो चरणको निर्वाचनमा देउवा विजयी भएका हुन् । उनलाई पहिलो चरणबाट बाहिरिएका प्रकाशमान सिंह र बिमलेन्द्र निधिले सघाएका थिए ।

पदाधिकारीसहित १३४ जना केन्द्रीय सदस्यका लागि सोमबार मतदान भएको थियो । भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा भएको मतदानको मतपेटिका (पानी ट्यांकी) सोही दिन राती पार्टी कार्यालय सानेपामा लगेर राखिएको थियो ।

टिप्पणीहरू