भारतका पूर्व राजदूत काठमाडौंमा, नेताहरुको निवासमा लस्कर
नेपाली काँग्रेस महाधिवेशनको अन्तिम परिणाम नआउँदै र संसदको हिउँदे अधिवेशन प्रारम्भ भएको छेको पारेर नेपालका लागि भारतीय पूर्वराजदूत केभी राजन काठमाडौं आएका छन् । शारीरिक रुपमा कमजोर राजन नयाँ दिल्लीको तातो छाडेर काठमाडौंको ठिहिरोमा आउनुलाई अर्थपूर्ण मानिएको छ ।
तीन दिनअगाडि आएका राजन भर्र्याङ् ओर्लदा बैशाखी टेकेर हिँड्छन् । आफैं उभिएर सर्न गाह्रो हुने उनलाई अरु बेला दुई जना सहयोगीले टेको दिने गरेको देखिन्छ । राजन दरबारमार्गस्थित याक एण्ड यतिमा बसेका छन् । उनीसँगै अर्को टोली पनि काठमाडौं आएको स्रोतको दाबी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशनको सहयोग सम्झौता एमसीसी पारित गराउने अभियानमा लाग्नु,अप्रत्यासित रुपमा संसद बोलाउनु र भारतीय दूतहरु नेपाल आउनु एकैपटक भएको छ । हिजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उहाँको निवास खुमलटारमा काँग्रेस महाधिवेशनमा सर्लाहीबाट प्रतिनिधिमै हारेका र मनमोहन सिंहको पालामा कृष्णप्रसाद सिटौलासङ्गै दिल्लीलाई सीधै रिपोर्टिङ गर्ने भूमिकामा रहेका अमरेशकुमार पुगेका थिए ।
उता, विषय फरक परे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र यज्ञराज सुनुवारहरु बालकोट पुगेको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री देउवासँग बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँण,दिउँसो राजीनामा दिएका रक्षामन्त्री डा. मीनेन्द्र रिजालले भेटेका थिए ।
हिजै जर्मनीका राजदूत र युरोपेली युनियनका अरु दुई जना राजदूतले पनि प्रधानमन्त्रीसँग भेटघाट गरेका छन् । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले पनि प्रधानमन्त्री देउवासँग भेटेका थिए ।
रिजालले राजीनामा दिएपछि प्रधानमन्त्री देउवाको क्याबिनेटमा उद्योग,वाणिज्य तथा आपूर्ति र रक्षा मन्त्रालय खाली भएको छ । अब आफूलाई अनुकूल हुने गरी दुई जना काँग्रेसी नेतालाई मन्त्री बनाउन बाटो खुलेको हो । महाधिवेशनमा भएका कतिपय गिभ एण्ड टेक यही दुई वटा मन्त्रालयले पनि सल्टाउने बालुवाटार निकट काँग्रेसीहरुको बुझाइ छ ।
टिप्पणीहरू