किराँत राजाको शालिक अनावरण

किराँत राजाको शालिक अनावरण

उदयपुरको चौदन्डीगढी नगरपालिका-७ बुधबारेको साकेला थानमा प्रथम किराँत राजा यलम्वर हाङको ढुङ्गे शालिक अनावरण गरिएको छ । करिब ५ फिटको सो ढुङ्गे शालिक साकेला पर्व उभौलीको अवसरमा आयोजित एक कार्यक्रमका बीच आज अनावरण गरिएको हो ।

शालिक अनावरण गर्दै चौदन्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले आदिवासी जनजातिहरुले राष्ट्रिय एकतालाई जोगाउन विशेष ध्यान दिनुपर्ने बताएका छन् । उनले आ-आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षणमा सबैले सजग हुनुपर्ने धारणा राखे ।

शालिक स्वर्गीय कृष्णबहादुर राईको स्मृतिमा उनकी श्रीमतीत्रय किन्दरमाया, सुनमाया र ध्रुवतारा राईलगायतका परिवारले स्वेच्छिकरुपमा चार लाख २५ हजार रुपैयाको लगानीमा तयार गरिएको हो । एउटै ढुङ्गालाई कपेर मूर्तिकार धिराज राईले शालिक निर्माण गरेका हुन् ।

यलम्वर हाङको मूर्ति अनवारणपश्चात् उपस्थित किराँतहरुले साकेला सिलि नृत्यमा उत्सव मनाएका थिए । कार्यक्रम किराँत राई यायोख्याका नगर अध्यक्ष अन्जना राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

टिप्पणीहरू