हतियारमा लाटलुट पार्ने को हुन् मतियार ?
सिपाहीलाई मनलाग्दी बिदा बस्न लगाएर तोकिएको जिम्मेवारी पूरा नगरी तलबभत्ता खुवाउने सशस्त्र प्रहरीका थुप्रै एसपीमध्ये हातहतियार तथा यान्त्रिक कार्यशाला (आर्मोरर), बलम्बुका नानीराम हुमागाईं पनि हुन् । उनीमातहत ८० जना कार्यरत छन् । यसमध्ये एक चौथाईभन्दा कम कर्मचारीलाई मात्र कार्यालयमा राखी अरू सबैलाई बिदा छाड्ने गरेका छन् ।
महिनौंसम्म आउट रहे पनि तलब–भत्ता भने खाइरहने उनीहरूले फोकटमा बरालिएर राज्यबाट तलबभत्ता बुझेबापत हाकिमलाई रासनबापतको कति रकम छूट देलान् ? एक जना प्रहरी कर्मचारीलाई राज्यले मासिक ३ हजारभन्दा बढीको रासन उपलब्ध गराउँछ ।
८० जना कर्मचारीमध्ये २५ जनालाई नियमित काममा लगाई ५५ जनालाई बिदा छाडेर उनीहरूको रासनबापतको नगद हात पार्दा मासिक अतिरिक्त आम्दानी चोखै २ लाख हुन आउँछ । नेपालमा सरकारी जागिर खाएर हाकिमले डलरको भाउमा आम्दानी गर्ने र सीमारक्षाजस्तो संवेदनशील कार्यको जिम्मा भए पनि घरबारदेखि व्यापार व्यवसायसमेत गर्न पाइने भएपछि दुवै पक्ष तैं चुप मै चुप हुने नै भए ।
नानीराममातहत शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त मुलुकमा खटिँदा सशस्त्र प्रहरीले प्रयोग गर्ने ५४ वटा महँगा सवारी साधन पनि छन् । ती साधन दैनिक २ लिटर इन्धन राखी स्टार्ट गर्नुपर्छ । अरू ६ वटा ठूला सवारीसाधनलाई दिनहुँ ३ लिटर इन्धन राखी स्टार्ट गरेर तन्दुरुस्त राख्नुपर्ने हुन्छ । यस्तोमा पनि घोटाला हुने गरेको छ ।
गाडी स्टार्ट गर्न दैनिक प्राप्त हुने १२६ लिटर इन्धन सदुपयोग भएको होला कि दुरुपयोग ? तीन दिनमा एकपटक गाडी स्टार्ट गर्दा मासिक २० दिनको इन्धन बचत हुन्छ । दैनिक १२६ लिटरका दरले २० दिनको २५२० लिटर इन्धन फोकटमा हात पर्छ । अस्ति सोमबारको पेट्रोलको मूल्य प्रतिलिटर १४२ ले हिसाब गर्दा हिनामिना गरेबापत एक महिनामा ३ लाख ५७ हजारभन्दा बढी बच्छ ।
यी गाडीको मर्मतसम्भार शीर्षकमा वार्षिक ४२ लाख रुपैयाँ आउने गरेको छ । तर ०७४ सालदेखि खासै मर्मत गरिएको छैन । तैपनि, वार्षिक आउने रकम भने नक्कली बिल बनाएर खपत भैरहेको देखिन्छ । रासनमा कम गुणस्तरका सामग्री प्रयोग गर्ने, तोकिएको सूची अनुसारका नखुवाउने त कमाण्डर र मेसको जिम्मा लिएका सई देवेन्द्र श्रेष्ठको धन्दा नै हो । देवेन्द्र कोषराज वन्तसँगै अख्तियारको निलम्बनमा परी अनेक प्रपञ्च मिलाएर आएका पात्र हुन् । देवेन्द्रले वार्षिक १२ लाख बुझाई मेसको जिम्मा लिएको बताइन्छ ।
केहीअघि कर्मचारीको उपस्थिति र मेसको समेत जाँच गर्न आउँदैछौँ भनी एसएसपी दीपेन्द्र शाहले बिहान ६ बजे नै खबर गरी गएका थिए । त्यतिबेला एकएक जनासँग सोधपुछ गरियो ।
तर, उपस्थिति पु¥याउन पहिले नै खबर गरिएकाले बुटवल तालिममा गएका प्रहरीलाई समेत बोलाएर गन्ति पु¥याई बयानमा सामेल गरियो । सोधपुछ तथा निरीक्षणमा आउँदा दीपेन्द्रको समूहले गत साउनमा बढाइएको १५ प्रतिशत र कात्तिकदेखि बढेको थप १५ प्रतिशत रासन पाएको छ कि छैन, बिदा जाँदा पनि सशस्त्रले पाउने रासन पाएको छ कि छैन, बिदा जाँदा फाराम भरी रीतपूर्वक जाने गरेको छ कि फोनको भरमा ? लगायत प्रश्न सोधेका थिए ।
दीपेन्द्रको टोलीले नानीरामबारे परेका रासनमा हिनामिना गरेको, बिदामा जानेको रासन आफैं लिने गरेको, बेरितपूर्वक बिदा छाडी पछि हाजिर गराउने र शुभलाभ हासिल गर्ने गरेकोलगायत गुनासा र उजुरीका सम्बन्धमा पनि मंसिर २० गते लिखित प्रष्टिकरण सोधेको छ ।
– होमनाथ ज्ञवाली
टिप्पणीहरू