अन्तर्जातीय विवाहपछि श्रीमान बेपत्ता,मुख्यमन्त्री मौन
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले अघिल्लो वर्ष रुकुमपश्चिमको चौरजहारीमा भएको घटनाको चर्को बिरोध गरेका थिए । अन्तर्जातीय विवाहपश्चात् भएको सामूहिक हत्याको विषयमा उनले प्रदेश संसदमै भनेका हुन्, ‘यहाँ थिचोमिचो र विभेद गर्न पाइँदैन ।’
त्यतिबेला उनी प्रतिपक्षी बेञ्चमा थिए र ठूलो स्वरमा भने, ‘दलित समुदायको बाँच्न पाउने अधिकार कुण्ठित गर्न पाईंदैन ।’
तर, आज समय बदलिएको छ । उनी विपक्षी दलको नेताबाट मुख्यमन्त्री बनेका छन् । अहिले उस्तै प्रकृतिको घटना उनकै गृह जिल्लामा दोहोरिएको छ । अन्तर्जातीय विवाह गरेकै कारण बेपत्ता बनाइएका हुम्लास्थित सर्केगाड गाउँपालिका–१, हजैरका १९ वर्षीय चन्द्रे कामीका विषयमा एक शब्द खर्चेका छैनन् ।
“मुगुको मल्ल थरकी युवती र चन्द्रेबीच मंसिर ५ गते भागी विवाह भयो । मंसिर २९ गते युवतीका पिता आएर चन्द्रेलाई लछारपछार पार्दै लगेको पीडित परिवारले जनाएका छन् ।”
मुगुकी मल्ल थरकी युवती र चन्द्रेबीच मंसिर ५ गते भागी विवाह भयो । मंसिर २९ गते युवतीका पिता आएर चन्द्रेलाई लछारपछार पार्दै लगेको पीडित परिवारले जनाएका छन् । प्रहरीका अनुसार अन्तर्जातीय विवाह गरेका चन्द्रको अवस्था अहिलेसम्म अज्ञात छ । तर मुख्यमन्त्री शाहीले आफ्नै गृह जिल्लामा भएको अमानवीय घटनामा अहिलेसम्म चासो नदेखाएको स्थानीयको आरोप छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठका अनुसार छ दिनदेखि बेपत्ता चन्द्रेको खोजी र थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयको टोली हुम्ला पुगेको छ ।
भागी विवाह गरेपछि केटाकेटी घरबाट आफन्तको घरमा लुकीछिपी बसेका थिए । असुरक्षित महसुस गरेपछि उनीहरु केही दिनका निम्ति मात्र घर आएका थिए । कर्णालीका मुख्यमन्त्री शाहीकै गृह जिल्लामा जातीय विभेदका कारण यसरी घटना हुनु दुःखद् भएको अधिकारकर्मीहरु बताउँछन् ।
टिप्पणीहरू